स्वागतम खबर
ढल्केवर, जेठ २६ ।
धनुषाको मिथिला नगरपालिमा बुधवार लगाइएको ताला शुक्रवार खोलिएको छ । शुक्रबार नगर प्रमुख र ताला लगाउने पक्षबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको हो ।
छलफलमा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो, प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, प्रवक्ता रामबहादुर स्यांगदन र संघर्षरत पक्षबाट रामएकवाल यादव, उमेश कुमार सिंह र मनोज कुमार महतोबीच अगामी २०८० असार १५ गतेभित्र मिथिला नगरपालिका ६ ढल्केवरको स्वास्थ्य चौकीमा आकस्मिक सेवा संचालन गर्ने सहमति भएको छ ।
सञ्चारकर्मीको रोहवरमा ताला लगाउने पक्ष र नगर प्रमुख महतोबीच भएको भएको छलफलमा चालु आर्थिक वर्षकै असार १५ गतेभित्र स्वास्थ्य चौकी ढल्केवरमा आकस्मिक सेवा सञ्चालन गर्ने सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको नगरपालिकाका प्रवक्ता एवं ७ नम्बरका अध्यक्ष रामबहादुर स्याङ्गदनले जानकारी दिनुभयो ।
असार १५ गतेसम्म उक्त सहमति पुरा नभएमा पुन विरोधका कार्यक्रमहरु गर्ने संघर्षरत पक्षले जनाएको छ ।
ढल्केवरमा आकस्मिक सेवासहितका अस्पताल सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया रोकिएपछि आक्रोशित स्थानीयले बुधबार मेयर महेन्द्र महतो, उपमेयर सुनिता सिंह बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेको कार्यकक्षमा ताला लगाएका थिए ।
नगरपालिकाले आकस्मिक अस्पताल सञ्चालनका लागि कर्मचारी भर्ना गर्न जेठ २५ गते आवेदकहरुको अन्तर्वाता लिन समय तोकेको भएपनि अन्तर्वाताको एक दिन अगाडि प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कर्मचारी भर्ना प्रक्रिया स्थगितको सूचना सार्वजनिक गरेपछि आक्रोशित स्थानीयले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए ।
आकस्मिक अस्पताल सञ्चालनका लागि नगरपालिकाले गएको असोज १२ गते नै मेडिकल अधिकृत २, ल्याब टेक्नोलोजिस्ट १, अनमी ४ र स्वीपर २ जनासहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो ।
नगरपालिकाले अस्पताल सञ्चालन गर्न स्वास्थ्य चौकी ढल्केवरको परिसरमै रहेको एक भवन तयार गरेको छ भने स्वास्थ्य उपकरण समेत खरिद गरिसकेको स्वास्थ्य शाखाले जनाएको छ ।