स्वागतम खबर
ढल्केवर, जेठ ३२ ।
धनुषाको मिथिला नगरपालिमा विहिवारदेखि महिला कानुनी सचेतना तालिम सुरु भएको छ । सो तालिम तीन दिन अर्थात असार २ गतेसम्म चल्ने जनाएको छ ।
समग्र महिला विकास केन्द्र नेपालको आयोजना तथा मिथिला नगरपालिकाको आर्थिक सहयोगमा सो तीन दिवसीय महिला कानुनी सचेतना तालिम संचालन गरिएको छ ।
संस्थाका अध्यक्ष पुजा दासको अध्यक्षता तथा मिथिला नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । ढल्केवरस्थित रातो लालीगुरासँ सहकारी संस्थाको हलमा सुरु भएको सो तालिममा नगरपालिकाभरिका ३० जना महिलाको सहभागिता रहेको संस्थाका पूर्व अध्यक्ष एवं महिला अधिकारकर्मी मुनी दासले जानकारी दिनुभयो ।
तालिममा मानवअधिकारकर्मी तथा ईन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले प्रशिक्षण दिइ रहनु भएको छ । तालिमको उद्घाटन सत्रमा मिथिला नगरपालिका ६ का वडाअध्यक्ष नन्दकिशोर यादव, कार्यपालिका सदस्य कौशिल्यादेवी महरा, ईन्दकला कुमारी, मिना परियार, नगिना खातुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका मिलनदेवी श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
यस्तै मिथिला नगरपालिमै विहिवारदेखि महिलाहरुको लागि उद्घोषण तथा नेतृत्व विकास तालिम समेत सुरु भएको छ । जनकपुरधामको जागु महिला संस्थाको आयोजना तथा नगरपालिकाको सहयोगमा सो तालिम सुरु भएको छ । तीन दिनसम्म चल्ले सो तालिममा नगरपालिका नगरस्तरीय महिला संजालका पदाधिकारी लगायत ३० जना महिलाको सहभागिता रहेको छ । सो तालिम राधाकृष्ण मन्दिरमा संचालन गरिएको छ ।