स्वागतम खबर

सिमरा, असार १४ ।

बाराको जिल्लाकाे सिमरामा जारी दोस्राे रामनारायण मिश्र फुटबल प्रतियोगिताको फाईनलमा बारा जिल्ला प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सिरहालाई पराजित गर्दै बारा जिल्ला फुटबल संघ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

बाराले सिराहालाई ६–३ ले गोल अन्तरले पराजित गरेको थियो । बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई/दुई गोल गरे भने सुशान्त चौधरी र उदित चौधरीले एक/एक गोल गरेका थिए । यता सिरहाका लागि बिनु मगर, अमन हमाल र सुजन मगरले एक एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको बाराले दोस्राे हाफमा चार गोल गरेको थियो । खेलको म्यान अफ दि म्याच बारा जिल्ला पुटबल संघका सागर चौधरी घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य अमन लामाले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।

यसअघि प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो खेलमा महोत्तरीलाई ५–२ गोल अन्तरले पराजित गर्दै सर्लाही सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको जितमा अनिल मगरले व्यक्तिगत तीन गोल गर्दै ह्याट्रीक गरेका थिए । सर्लाहीका लागि दुई गोल भने सागर स्याङ्तान र सविन स्याङ्तानले गरेका थिए । यता महोत्तरीका लागि निशान्त आले र कृष्ण राणाले एक/एक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज विहिवार रौतहट र सर्लाहीबीच दोस्रो सेमिफाइनल खेल हुदैछ । रौतहट र सर्लाहीबीचको विजेताले बारा जिल्ला फुटबल संघसंग उपाधीका लागि असार १६ गते फाईनल खेल खेल्नेछ ।

मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि शुरु भएको प्रतियोगिताको मुख्य सहयोगीमा शिक्षा तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेश रहेको छ । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहेको छ ।