स्वागतम खबर
ढल्केवर, असार १४ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा संचालन गरिएको लोकसेवा कक्षा संचालन कार्यक्रम समापन गरिएको छ । मिथिला नगर पत्रकार संजाल ढल्केवर धनुषाको आयोजना तथा मिथिला नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा संचालित लोकसेवा कक्षा संचालन कार्यक्रम अन्तर्गत प्रथम पत्रको तयारी कक्षा समापन गरिएको छ । संजालका अध्यक्ष विनोदकुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा कक्षा समापन गरिएको छ ।
सो अवसरमा मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकी विशेष उपस्थिति रहेको थियो । समापन कार्यक्रममा मिथिला नगरपालिका २ का वडासदस्य तथा कार्यपालिका सदस्य कौशिल्यादेवी महरा, वडासदस्य हरिकुमार यादव, जोगी महतो, सावित्रीदेवी महतो, नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी दिपेशकुमार काफ्ले, लेखा अधिकृत गणेश भण्डारी, वडासचिव संदिप दहाल, हिमालय युवा क्लवका संरक्षक अरुणकुमार महतो लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
लोकसेवा कक्षा संचालन कार्यक्रममा सरकारी जागिरको लागि खरिदारको तयारीमा लागेका मिथिला नगरपालिका वडा नं. २ भरिका ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त तालिम हिमालय युवा क्लवको तालिम कक्षामा ४५ दिन चलेको थियो । जनकपुरधामका धनुषा कोचिंग सेन्टरका लोकसेवाका शिक्षकहरुद्धारा कक्षा संचालन गरिएको संजालका अध्यक्ष विनोदकुमार महतोले जानकारी दिनुभयो ।
यसैबीच मिथिला नगरपालिका वडा नं. २ मै बालबालिकाहरुका लागि संचालन गरिएको आधारभूत कम्प्युटर तालिमको समेत समापन गरिएको छ । मिालय युवा क्लवको आयोजना तथा मिथिला नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा संचालन गरिएको सो तालिममा ३६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । समापनको अवसरमा प्रमुख अतिथि नगर प्रमुख महतो र विशिष्ट अतिथि उपमेयर बुढाथोकीले सहभागी बालबालिका विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । सो तालिममा कम्प्युटर प्रशिक्षक मनोज कुमार महतोले सहभागी विद्यार्थीहरुलाई अभ्यास सहित तालिम प्रदान गरेको क्लवका सचिव शिवकुमार सिंहले जानकारी दिनुभयो ।