स्वागतम खबर
बर्दिवास, असार १५ ।
“जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” मुल नाराका साथ असार १५ गते शुक्रवार २०औं राष्ट्रिय धान दिवस २०८० मनाइएको छ । २०औं राष्ट्रिय धान दिवसको उपलक्ष्यमा जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजनाले महोत्तरी जिल्लाको औरही नगरपालिकाको वडा नं ४ मा वृक्ष रोपण कार्यक्रम गरेको छ । औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काको अध्यक्षता तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यतमा वृक्ष रोपण कार्यक्रम गरिएको छ ।
लिरिक परियोजनाको सहयोगमा महोत्तरी जिल्लाको औरही, बर्दिवास, गौशाला र भंगहा नगरपालिका र धनुषा जिल्लाको मिथिला नगरपालिका एवं बटेश्वर गाउँपालिकाको सहकार्यमा गठित अन्तर स्थानीय तह संयन्त्रको कार्य समितिद्वारा पहिचान गरिएका विभिन्न साझा सवालहरु मध्येबाट तत्काल कार्यान्वयन गर्न सकिने वृक्ष रोपण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कुर्मीले विगत केही महिना देखि देखिएको सुख्खा खडेरी जस्ता समस्याहरु जलवायु परिवर्तनकै कारण भएको र यसको न्युनीकरण गर्नका लागि औरही नगरपालिका तथा लिरिक परियोजनाले पु¥याएको योगदान अतुलनीय र सराहनीय रहेको बताउनु भयो । उहाँले वन तथा वातावरण मन्त्रालयले निर्वाह गर्न सक्ने भूमिका, साथ, सहयोग सदा उपलब्ध हुने र आगामी दिनका योजनाहरुमा जलवायु परिवर्तनका असर कम गर्न विभिन्न क्रियाकलापहरु समावेश गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले युरोपियन युनियन र अस्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारीमा संचालित लिरिक परियोजना अन्तर्गत औरही नगरपालिकामा विगत २०२० जनवरी देखि २०२३ जुन सम्म स्थानीय समुदाय मार्फत जलवायु परिवर्तन र विपद् जोखिम न्युनीकरण, उत्पादनशील पानी, कृषि, जिविकोपार्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, प्राकृतिक स्रोत व्यवस्थापन, विद्यालय जलवायु शिक्षा, स्थानीय सामुदायिक संस्थाको क्षमता अभिवृद्धि, युवा तथा महिला च्याम्पियनहरुको तथा जलवायु कृषक पाठशालाका सहजकर्ताहरुको निर्माण, पर्यावरणीय सेवाको भुक्तानी तथा पालिकाको नीति नियम र कार्यविधि निर्माणका कार्यहरु भएको बताउनुभयो । उहाँले संस्थाकाले संचालन गरेको कार्यक्रम निकै सराहनीय रहेको भन्दै औरही नगरपालिकाको तर्फबाट लिरिक परियोजनाका सम्पूर्ण आबद्ध संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तनले मधेश प्रदेशमा पारिरहेको असर, यसको न्युनीकरणका लागि लिरिक परियोजना र पैरवी मञ्चले निर्वाह गरेको भूमिका बारे जानकारी गराउँनु भएको थियो । अध्यक्ष यादवले आगामी दिनहरुमा पैरवी मञ्च, पालिका, प्रदेश र संघको सहकार्यमा जलवायुका सवालहरु पहिचान र न्युनीकरण गर्ने परियोजनाहरु कार्यान्व्यन गर्न सकेमा सामाजिक रुपान्तरणमा थप टेवा पुग्ने बताउनुभयो ।
औरही नगरपालिकाको आयोजना तथा लिरिक परियोजनाको सहयोगमा भएको वृक्ष रोपण कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य रमिता प्रधान, महोत्तरी जिल्ला समन्वय समिति प्रमुखका सुमनलाल कर्ण, जिल्ला डिभिजन वन अधिकृत सन्तोष कुमार झा, औरही नगरपालिकाको नगर उपप्रमुख रेणु झा, समाजसेवी विनोद गामी, ज्ञानेन्द्र झा, औरही नगरपालिका वडा नं १ का वडाध्यक्ष जोगी चौधरी, वडा नं २ का वडाध्यक्ष दरेश यादव, वडा नं ३ का वडाध्यक्ष राम केवल यादव, गौरी शंकर झा, नवल चौधरी, सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव, केदार कोइराला, ऋषि पोखरेल, आड्रा नेपालका आमोद गौतम, लिरिक फिल्ड संयोजक पप्पु यादव लगायतको उपस्थिति रहेको लिरिक परियोजनाका फिल्ड संयोजक पप्पु यादवले जानकारी दिनुभयो ।