स्वागतम खबर
बर्दिवास, असार १५ ।
“जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” मुल नाराका साथ असार १५ गते शुक्रवार २०औं राष्ट्रिय धान दिवस २०८० मनाइएको छ । २०औं राष्ट्रिय धान दिवसको उपलक्ष्यमा धनुषामा पनि कृषिसँग जोडिएको कार्यालय, पालिका र संघसंस्थाले खेतमा धान रोपेर च्युरा, दही र आँप खाएर दिवस मनाएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ लवटोलीस्थित मिथिला उपवन कृषि फार्म पोर्ताहाले खेतमा धान रोप्दै दही च्युरा र आँप खाएर दिवस मनाएको छ ।
मिथिला उपवन कृषि फार्म पोर्ताहा, कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र नवलपुर सर्लाही र कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाले सो फार्ममा संयुक्त रुपमा धान रोपेर दिवस मनाएको छ ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहको अध्यक्षता तथा मन्त्री गोविन्द बहादुर न्यौपानेको प्रमुख आतिथ्यमा धान दिवस मनाइएको हो ।
सो अवसरमा प्रदेशसभा सदस्य संजय महतो, कृषि विकास निर्देशनालय नक्टाझिजमा प्रमुख कमलदेव प्रसाद कुशवाहा, कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र नवलपुर सर्लाहीका प्रमुख कृषि ईन्जिनियर रामनाथ झा, विग ईण्डष्ट्रीजका अध्यक्ष नवराज बुर्लाकोटी, मिथिला उपवन कृषि फार्म पोर्ताहाका अध्यक्ष उपेन्द्र सापकोटा लगायतले आ आफनो विचार राख्नुभएको थियो ।
सो अवसरमा गणेशमान चारनाथ नगरपालिका ८ का वडाअध्यक्ष लगायत, जनप्रतिनिधी, कर्मचारी र किसानहरुको उपस्थिति रहेको थियो ।
कृषि स्रोत केन्द्रको रुपमा विकास र विस्तार गर्न लागिएको मिथिला उपवन कृषि फार्म पोर्ताहा मधेशकै गौरवको विषय भएको मन्त्री न्यौपानेले बताउनुभयो ।
५० विघा जग्गा खरिद गरेर कृषि कर्मसँग जोडिएका सबै प्रकारका अध्ययन, अनुसन्धान र परिक्षण लगायतको सबै कार्यक्रम संचालन गरिने मिथिला उपवन कृषि फार्म पोर्ताहाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
करिव ४ सय जना भन्दा बढी सेयर होल्डर रहेको विग ईण्डष्ट्रीजको अवधारणा अन्तर्गत संचालन गरिएको सो फार्ममा स्थानीय किसानहरुको समेत लगानी रहेको छ । कृषिका क्रान्ति ल्याउन र स्थानीय किसानहरुलाई कृषि प्रविधिमा दक्ष बनाउने तथा बुद्धिजिवी आश्रम समेत संचालन गर्ने लक्ष्य रहेको स्थानीय विग ईण्डष्ट्रीजका अध्यक्ष सिए नवराज बुर्लाकोटीले जानकारी दिनुभयो ।
उहाँले “जोड्दै नेपाली मन, खोज्दै आफ्नोपन” मूल नाराका साथ यो कृषि स्रोत केन्द्र संचालन गरिएको बताउनुभयो ।