स्वागतम खबर
महेन्द्रनगर, असार १८ ।
सनातन धर्म रक्षाका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सोमबार शोभा यात्रा निकालिएको छ । हिन्दू धर्मावलम्बीलाई धर्मप्रति जागरुक बनाउन तथा एकताको सुत्रमा बाँध्न शोभा यात्रा निकालिएको बताइएको छ ।
सखुवा बजारमा रहेको हनुमान मन्दिरबाट शुरु गरिएको शोभा यात्रा महेन्द्रनगर बजार, दुर्गा मन्दिर र क्षीरेश्वरनाथ महादेव मठ हुँदै पुनः सखुवा बजारमा आएर टुङ्गिएको थियो ।
हिन्दू सम्राट सेना नेपाल र नेपाल सनातन धर्म हिन्दू संरक्षण समितिको आयोजनामा शोभा यात्रा निकालिएको थियो । शोभा यात्राका सहभागीले जय श्री राम, हिन्दू राष्ट्र कायम गरजस्ता नारा लगाएका थिए ।
शोभा यात्रामा सहभागी हिन्दू सम्राट सेना नेपालकी महिला नेतृ लक्ष्मी कायस्थले नेपाल सनातन धर्मावलम्बीहरुको देश भएको दावी गर्नुभयो । सनातन धर्म विश्वको सबैभन्दा प्राचीन धर्म भएको बताउँदै उहाँले सनातन धर्मको रक्षा गर्नु हिन्दू धर्मावलम्बीहरुको कर्तव्य भएको जानकारी दिनुभयो ।
सनातन धर्म हिन्दू संरक्षण समिति क्षीरेश्वरनाथ नगरपालिकाका सचिव सूर्यनारायण महतोले हिन्दू धर्मलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाले सनातन धर्मावलम्बीलाई धर्मप्रति जागरुक बनाउन शोभा यात्राको आयोजना गरिएको बताउनुभयो ।
विभिन्न धर्मका अनुयायीहरुले हिन्दू धर्मावलम्बीलाई विभिन्न खालको प्रलोभन तथा दबाब दिएर धर्म परिवर्तन गराइरहेको भन्दै उहाँले धर्म परिवर्तन रोक्न ठोस कानुन बन्नुपर्ने जानकारी दिनुभयो । सचिव महतोले नेपाललाई पुनः हिन्दूराष्ट्र कायम गर्नुपर्ने सरकारसँग माग गर्नुभयो ।