स्वागतम खबर
ढल्केवर, असार २९ ।
धनुषाको मिथिला नगरपालिकाले स्नातक तह (ब्याचलर) उत्तिर्ण नगरभित्रका छोरी र बुहारीलाई शुक्रवार सम्मान गरेको छ । ‘‘मिथिलाको चाहना घर–घरमा साहाना’’ कार्यक्रम अन्तर्गत नगरभित्र जन्म भई बाहिर पालिकामा विवाह नभएका स्नातक उत्तिर्ण छोरी र मिथिला नगरपालिकामा विवाह भई आएका स्नातक उत्तिर्ण बुहारीलाई सम्मान गरेको छ ।
नगरपालिकाले ‘‘मिथिलाको चाहना घर–घरमा साहाना’’ कार्यक्रममा निवेदन दिएकामध्ये स्नातक उत्तिर्ण ५९ जना छोरी र बुहारीलाई सम्मान पत्र र ६ हजार नगद सहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा सम्मानित हुने छोरी र बुहारीका अभिभावकहरुलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
मिथिला नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख मिलनदवी श्रीवास्तवको अध्यक्षता तथा नगर उप प्रमुख सुनितासिंह बुढाथोकी प्रमुख आतिथ्यमा ढल्केवरको राधाकृष्ण मन्दिर प्राङ्गणमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख सिंहले मिथिला नगरपालिकालकी छोरी बाहिर विहेवारी भएर जाँदा शिक्षित र असल बुहारी बनेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो घरमा सासु बुहारीसँग लड्नु बहादुरी नभएको भन्दै अब महिलाहरुले समाजको कुरिती विरुद्ध लड्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिमा महिलालाई अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको र सोहि आवश्यकता अनुरुप महिला नेतृत्वमा आउनु पर्ने धारणा राखनुभयो ।
कार्यक्रममा छोरीलाई उच्च शिक्षा पढाउन र त्यसपछि मात्र विहेवारी गर्न अभिभावक उपप्रमुख सिंहले आग्रह समेत गर्नुभयो ।
यता कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मिथिला नगरपालिका प्रवक्ता तथा वडा नंं ७ का वडाअध्यक्ष रामबहादुर स्यांगदनले छोरीले उच्च शिक्षा अध्ययन गर्न थालेपछि कम उमेरमा गरिने बाल विवाह रोक्ने मद्दत र छोरीले पनि उच्चशिक्षा आर्जन गर्न सक्ने धारणा राख्नुभयो । उहाँले छोरीलाई पनि आत्मनिर्भर बनाउन पालिकाले स्नातक उत्तिर्ण छोरी र बुहारीलाई मिथिलाको चाहाना घर– घरमा साहाना कार्यक्रम मार्फत सम्मान गर्दै आएको जानकारी दिनुभयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिका ३ का अध्यक्ष रामएकवाल महतोले एउट कुशल नेतृ साहाना प्रधानको जीवनी सबैको लागि प्रेरणाको स्रोत रहेको भन्दै हरेक छोरी बुहारीले साहानाको जिवनीबाट प्रेरित हुनपर्ने बताउनुभयो ।
यता कार्यक्रममा स्वागत मन्तव्य राख्दै मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लले छोरी बुहारीलाई उच्च शिक्षामा पहुँच र हौसला बढाउने तथा अभिभावकलाई पनि छोरीलाई उच्च शिक्षा दिनुपर्छ भन्ने उद्देश्यका साथ सम्मान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
यता कार्यक्रमलाई समापन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख श्रीवास्तवले अब छोरी बुहारीले पनि विभिन्न्न अवसरको खोजी गर्दै सरकारी जागिरमा अगाडी बढ्न थालेको सुखद दिन आउन थालेको बताउनुभयो । उहाँले यहाँमा समाजमा उच्च शिक्षा नपढ्दै छोरीले पढाई छोड्नु परेको, उमेर नपुग्दै अभिभावकले विवाह गरिदिनेभएको कारणले पनि छोरी पढ्न नपाएको भन्दै उच्च शिक्षा र बाल विवाह रोक्न पनि यो कार्यक्रम ल्याएको कार्यक्रमलाई निरन्तरता दिईरहेको भन्नभयो । उहाँले नगरपालिकाल मात्रबाल विवाह रोक्न नसक्ने भएकाले समाजका हरेक निकायबाट यसको लागि आवाज उठ्नुपर्ने धारणा राख्नुभयो ।
मिथिला नगरपालिकाको ‘‘मिथिलाको चाहना घर–घरमा साहाना’’ कार्यक्रममा सम्मानित भएपछि मिथिला नगरपालिका ६ का उरुसा बरालले भनिन् – ‘छोरीको उच्च शिक्षालाई बढावा दिन र अध्ययनप्रति हौसला बढाउन यो सम्मानले सन्देश दिएको छ, छोरीले पनि उच्च अध्ययन गर्नु पर्छ, केही बन्नु पर्छ, शिक्षित समाजका लागि छोरी शिक्षित हुनै पर्छ ।’
मिथिला नगरपालिकाका निवर्तमान उपमेयर ताराकुमारी बस्नेत लामाले महिलाहरुलाई उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्न र हौसला बढाउन आफ्नै कार्यकालमा ‘‘मिथिलाको चाहना घर– घरमा साहाना’’ कार्यक्रमको सुरुवाता गर्नुभएको थियो । जुन कार्यक्रमलाई मिथिला नगरपालिकाले निरन्तरता दिँदै आएको छ ।