स्वागतम खबर
महेन्द्रनगर, भदौ १ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रवद्र्धन परियोजना (प्रोयेल) अन्तर्गत शुक्रवारदेखि माध्यमिक विद्यालयका शिक्षकहरुका लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिताका लागि कानुनी तथा अन्य विविध विषयमा जानकारी र सचेतना दिने उद्देश्यले सो तालिम आयोजना गरिएको छ ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको आयोजनामा सो तालिम संचालन गरिएको छ । तालिममा नगरपालिकाभित्र रहेका पाँच वटा माध्यमिक स्तरका सामुदायिक विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको संस्थाले जनाएको छ ।
संस्थाका उपाध्यक्ष लोटन महतोको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगर पालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको थियो ।
सो अवसरमा नगरपालिकाका शिक्षा शाखाका प्रमुख दिपक खत्री, सामी हेल्वेटासका कार्यक्रम अधिकृत तथा प्रशिक्षक देवनारायण मण्डल, सहयोगी समाजका जनक अधिकारी, दर्पन सामुदायिक सूचना तथा संचार केन्द्रका राजेश महतो, कोषाध्यक्ष रामउदगार महतो लगायतको उपस्थिति रहेको थियो ।
तालिम उद्घाटनकोअवसरमा वक्ताहरुले विद्यालय स्तरबाट समेत सुरक्षित वैदेशिक रोजगारको विषय स्थानीय पाठ्यक्रम लागु गरी समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।
सो तालिम भदौ २ गते शनिवार समापन हुने संस्थाका प्रतनिधि राजेश महतोले जानकारी दिनुभयो ।
उप परियोजनाले वैदेशिक रोजगारीलाई प्रोत्साहित नगरेपनि विविध कारण र बाध्यतावस विदेश जाने सोचमा रहेको युवाहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा पहुँच बढाउन समाजिक स्तरबाटै पालिकाको समन्वयमा सचेतना कार्यक्रम संचालन गरिरहेको छ ।
असुरक्षित वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र युवालाई सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्याउने तथा कानुनी कुराहरुको विषयमा जागरुकता बढाउने उद्देश्य सहित कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ । यस्तै संस्थाले रेडियो कार्यक्रम ‘देश प्रदेश’ मार्फत समेत सचेतना मूलक कार्यक्रम संचालन गरिरहेको छ ।