स्वागतम खबर
महेन्द्रनगर, भदौ २ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रवद्र्धन परियोजना (प्रोयेल) अन्तर्गतकाे उप परियोजना सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिता सम्बन्धी शिक्षकहरुलाई दुई दिने तालिम दिइएको छ । सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिताका लागि कानुनी तथा अन्य विविध विषयमा जानकारी र सचेतना दिने उद्देश्यले सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सो तालिम दिइएको छ ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको आयोजनामा शुक्रवारदेखि शुर भएको दुई दिने तालिम शनिवार समापन गरिएको छ । तालिममा नगरपालिकाभित्र रहेका पाँच सामुदायिक माध्यमिक विद्यालयका चार/चार शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको संस्थाले जनाएको छ ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी तालिमले आफुहरुमा पनि वैदेशिक रोजगार सम्बन्धी कानुनीगत र व्यवहारिक कुराहरुको जानकारी प्राप्त भएकोले विद्यालय स्तरबाट समुदायमा सचेतना बढाउन सहयोग पुग्ने तालिममा सहभागी मावि ईच्छापुरका शिक्षक बह्मदेव साहले बताउनुभयो ।
विना सीपको विदेश जानु हुँदैन, जानै पर्दा सुरक्षित रुपमा कसरी जाने, कागजाताहरु कसरी सुरक्षित राख्ने, समस्या पर्दा को सँग कसरी समन्वय गर्ने लगायत कुराको सिकाइ भएकोले विद्यालयस्तरबाट पनि विद्यार्थी युवाहरु जागरुकता बढाउन सजिलो भएको ईच्छापुरकै मावि शिक्षक अनिता यादवले भन्नुभयो । तालिममा सामी हेल्वेटासका कार्यक्रम अधिकृत तथा प्रशिक्षक देवनारायण मण्डल र प्रदिप दत्तले सहजीकरण गर्नुभएको थियो ।
प्रोयेल उप परियोजनाले वैदेशिक रोजगारीलाई प्रोत्साहित नगरेपनि विविध कारण र बाध्यतावस विदेश जाने सोचमा रहेको युवाहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा पहुँच बढाउन समाजिक स्तरबाटै पालिकाको समन्वयमा सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।
असुरक्षित वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र युवालाई सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्याउने तथा कानुनी कुराहरुको विषयमा सामुदाियक विद्यालयस्तरबाट पनि जागरुकता बढाउने उद्देश्य सहित विद्यालयका शिक्षक शिक्षिकालाई सो तालिम दिएको संस्थाका प्रतिनिधी राजेश महतोले बताउनुभयो । सो तालिम महेन्द्रनगरस्थित ओम एकेडमी स्कुलको सभाहलमा संचालन गरिएको थियो ।