स्वागतम खबर
जनकपुरधाम, असोज १२ ।
“मन लगाउ, आफ्नो मुटु बचाउ” मूखय नाराका साथ आज विश्व विश्व मुटु दिवस मनाइएको छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित पार्वती हार्ट सेन्टरले बिरामीको निःशुल्क मुटु जाँच शिविर संचालन गरेको छ । शिविरमा करिव १८७ जनाको निःशुल्क मुटु जाँच गरिएको छ भने केही विरामीलाई औषधी समेत निःशुल्क उपलब्ध गराएको सेन्टरका व्यवस्थापकले जनाएको छ ।
शिविरमा पार्वती हर्ट सेन्टरका संचालक समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामकिशोर साह र उनका पुत्र मुटुरोग विशेषज्ञ डा. निश्चल साहले मुटुका बिरामीलाई निःशुल्क जाँच गर्नुभएको छ ।
डा. साहका अनुसार शिविरमा बिरामीहरुको निःशुल्क ईसिजी, इक्को र रगत जाँच गर्नुको साथै औषधि समेत प्रदान गरिएको हो । सेन्टरका संचालक समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. साहले असन्तुलित खानपान तथा जीवनशैलीमा हेलचेक्राईको कारणले गर्दा मुटुरोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । धुम्रपान तथा मध्यपान गर्ने व्यक्तिमा मुटु रोगको संक्रमण हुने जोखिम सबैभन्दा बढी रहेकाले धुम्रपान तथा मध्यपान नगर्न सर्वसाधारणलाई उहाँले सुझाव समेत दिनुभएको छ ।
उहाँका अनुसार विरामी हुँदा मानिसले विशेषज्ञको सल्लाह विनै मनपर्दी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्यमा रोग निको हुनुको बदला स्वास्थ्य जोखिम बढ्दै गएको छ । मुटुरोग हुनबाट बँच्न र मुटु रोग लाग्दा पनि दैनिक खानपान, शारिरीक कसरत, पैदल हिँडाई लगायतका गतिविधी र जीवनशैलीमा परिवर्तन गरे मुटु रोगबाट बँच्न सकिने उहाँको भनाई छ ।
नाम्स वीर अस्पतालका डि एम कार्डियोलोजीका पूर्व कोर्डिनेटर समेत रहनु भएका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रामकिशोर साह मधेश प्रदेश सहित जनकपुरधामका मुटुका विरामीलाई सहज र सहुलियत रुपमा स्वास्थ्य सेवा र उपचार दिने उद्देश्य सहित संचालन पार्वती हर्ट सेन्टर संचालन गर्दै आएको जानकारी समेत दिनुभयो । उहाँले आफु हप्तामा शुक्रवार र शनिवार गरी दुई दिन सेवा दिने गरको भएपनि आफ्नो छोरा मुटुरोग विशेषज्ञ डा. निश्चल साहले यहाँ दिनहुँ मुटुको जाँच र उपचार सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
शिविरमा विरामी जाँच गर्दै डा. निश्चल साह
डा. निश्चल साह मधेश ईन्सिच्युट अफ हेल्थ साइन्स जनकपुरधामका वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले जनकपुरधामको प्रादेशिक अस्पतालमा क्याथ ल्याव संचालनका लागि प्रयासरत हुनुहुन्छ । सो अस्पतालमा क्याथ ल्यावका सामग्री भएपनि संचालन हुन सकेको छैन् ।
सेवा जनकपुरधामको पिडारी चौक देखि पूर्व संकटमोन मन्दिर जाने बाटोको रेल्वे लिक नजिकै वर्षौदेखि संचालनमा रहेको पार्वती हर्ट सेन्टरले वर्षौदेखि मुटुका विरामीलाई सहुलियतमा उपचार सेवा दिँदै आएको सेन्टरका म्यानेजर विजय कुमार कामतीले जानकारी दिनुभयो ।
किन मनाईन्छ दिवस ?
मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाई रहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।
हृदय एक मात्र अङ्ग हो जुन तपाईँले सुन्न र महसुस गर्न सक्नुहुन्छ । यो जीवनको पहिलो र अन्तिम सङ्केत हो। हामी सबैलाई मानिसको रूपमा एकताबद्ध गर्न सक्ने क्षमता भएका केही चीजहरूमध्ये यो एउटा हो ।
हृदय रोगको जोखिम
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौँ ।
दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धूम्रपान अनि मदिरा पान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौँ । स्मरणीय रहोस्, माथि उल्लेखित कुराहरूमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्युलाई रोक्न सकिन्छ ।