स्वागतम खबर
ढल्केवर, असोज २७ ।
धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा रहेको हाम्रो बहुउद्देश्य सहकारी संस्था लि.को दोस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सीताराम महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा साधारणसभा गरिएको छ । सो अवसरमा मिथिला नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामबहादुर स्यांगदनको विशिष्ट आतिथ्यता रहेको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष महतोले संस्थाका भावी योजना र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका लेखा समितिका संयोजक शम्भु कुमार महतोले गत आर्थिक वर्ष २०७९र ०८० को आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यता सोहि अवसरमा संस्थाका सम्पत्ति शुद्धिकरण प्रमुख सत्यनारायण सिंहले संस्थाको अगामी रणनीति तथा कार्यक्रम बारे जानकारी गराउनुभएको थियो भने संस्थाका सचिव जितेन्द्र कुमार सिंहले संस्थाको वर्षभरिका गतिविधी बारे जानकारी गराउनु भएको थियो ।
हाम्रो बहुउद्देश्य सहकारी संस्था लि.ले दोस्रो साधारणसभामा प्रस्तुत गरेको आयव्यय विवरण अनुसार गत आर्थिक वर्षसम्ममा ५६ लाख २८ हजार ८ सय रुपैयाँ शेयर पुँजी रहेको छ ।
संस्थाले गत आर्थिक वर्षसम्ममा ७८ लाख ९० हजार ४ सय ९५ रुपैयाँ ऋण लगानी गरेको छ । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ९ लाख ३८ हजार ५ सय ६१ रुपैयाँ ब्याजबाट आम्दानी गरेको छ ।
संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणीलाई सम्मान समेत गरेको जनाएको छ । उत्कृष्ट बचत तर्फ ओम प्रकाश राय, दुर्गा कुमारी राउत र पुजा कुमारी महतोलाई सम्मान गरेको छ भने उत्कृष्ट ऋणी राकेश कुमार साह, प्रमिला कुमारी साह, तारादेवी लामा रन्जु कुमारी सिंहलाई सम्मान गरिएको छ ।
सो संस्थामा हाल ६४ जना पुरुष र ४६ जना महिला गरी १ सय १० जना सदस्य रहेको संस्थाका अध्यक्ष सीताराम महतोले जानकारी दिनुभयो ।
दोस्रो साधारणसभाको अवसरमा मिथिला नगरपालिकाका सहकारी शाखा प्रमुख उमेश महतो, कृषि शाखा प्रमुख संजय महतो, सहकारी बैंकका राजेश थापा, शिक्षाप्रेमी तथा संस्थाका सल्लाहकार निरप्रसाद शर्मा, सल्लाहकार संयोजक गणेश घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।