स्वागतम खबर
महेन्द्रनगर, कार्तिक २५ ।
धनुषाकाे मिथिला नगरपालिका ६ ढल्केवरस्थित राधाकृष्ण सामुदायिक अस्पतालका संचालक डा. रामएकवाल सिंहकाे निधन भएकाे छ । शनिवार साँझ ५ बजेकाे समयमा डा. सिंहकाे जनकपुरधामकाे म्याक्स हस्पिटलमा उपचारकाे क्रममा निधन भएकाे छ ।
दुवै किड्नीमा समस्या भएपछि करिव ६ महिनादेखि अस्वस्थ भएका डा. सिंहकाे दुई महिनादेखि किड्नीले काम गर्न छाेडेपछि नियमित उपचार र डायलासिसमा रहेकाे कुरा पारिवारिक स्राेतले बताएकाे छ । काठमाडौंमा उपचाररत डा. सिंह करिव दुईसातादेखि घरमा बस्दै आएकाेबेला डायलासिसका लागि जनकपुरमा भर्ना भएकाे समयमा निधन भएकाे छ ।
धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुर पैतृक घर भएका डा. हाल मिथिला नगरपालिका ६ ढल्केवरमा आफ्नै हस्पिटल संचालन गरि बस्दै आएका थिए । जेनरल मेडिसिनमा एम.डी.गरेका डा. सिंह रुसबाट गाईनाेमा MBBS गरेका थिए ।
२०२६ साल माघ ६ गते बुवा स्व.राजदेव सिंह र आमा साेहगिया देवीकाे जेष्ठ सुपुत्रकाे रुपमा जन्मेका डा. सिंहकाे श्रीमतिसहित एक छाेरा र एक छाेरी छन् ।