विनोदकुमार महतो
महेन्द्रनगर, मंसिर ३ ।
लोकआस्था प्रकृतिको महान छठ पर्वको मुख्यदिन आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइनेछ । आज बिहानैदेखि पोखरीको घाटहरुमा छठ पुजा सामाग्री राख्न व्रतालुहरुको घुईचो लाग्न थालेको छ ।
अर्घदानका लागि छठ गर्ने स्थल छठघाट, नदी, पोखरी, ईनार, ताल तलैयालाई दुल्हीझैँ सजाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने छठको पहिलो दिन शुक्रवार नुहाइधुवाइ अर्थात नहाय खाय विधि, दोश्रो शनिवार खरना विधि मनाइएको थियो भने आज अस्ताउँदो सुर्यलाई अर्घ दिएपछि संझुका अर्घ विधि सम्पन्न गरिने भएको छ । यसै भोली सोमबार विहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुनेछ ।
छठ पर्वका लागि जनकपुरधामको प्रसिद्ध गंगासागर, अरगजा पोखरी, धनुष सागर सहितका विभिन्न तलाउ तथा जलासयहरु दुल्हिन झैँ सजाइएको छ । यस्तै ग्रामिण भेगमा पनि पोखरी, नदीमा घाट बनाएर सजाएको छ । नदी र पोखरी नभएको क्षेत्रमा ईनारको छेउमै घाट बनाएर अर्घ दिने गरिन्छ ।
तराई मधेशमा प्रमुख पर्वको रुपमा रुपमा मनाइने छठको प्रारम्भ भएसँगै चोखो भई सम्पुर्ण विधिहरु गर्नुपर्ने मान्यता रहेको छ । भगवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत संकल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ ।
छठको मुख्य दिन मानिने आज बिहानै नुहाइधुवाइ गरी निराहार व्रत बसिन्छ । व्रतालु कम्मरसम्म आउने जलाशयको पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ् अर्थात् ‘संझुका अर्घ’ भन्ने गर्छन् ।
पोखरी, इनार, तलाउ, नदी आदिमा किनारमा रातभरि जाग्राम बसेर सप्तमी तिथिको दिन बिहान उदाउँदो सूर्यलाई अर्घदान गरेपछि छठ सम्पन्न हुने परम्परा रहेको छ । छठ समापन भएपछि घरपरिवार, आफन्तजन, छरछिमेकलाई छठको प्रसाद खुवाउन निम्तो गरेर बोलाईन्छ । छठमा प्रसादको रुपमा चढाईको फलफुल, केरा, ठकुवा, भुसवा लगायत मिठो मिठो परिकार बनाएर खुवाउने चलन छ ।
छठ पर्व गर्नाले चर्मरोग निको हुने, सन्तान प्राप्ति सहित पारिवारिक सुख शान्ति आउने जनविश्वास रहेको छ । वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भईरहेको छ ।
व्रतालुले भाकल गरे अनुसार अंचरा नाँच पनि गरिन्छ । छठ पर्वको अवसरमा घाटमा रातिभरि जाग्राम बस्नका लागि विभिन्न साँस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना समेत गरिँदै आएको छ । छठको सँझुका अर्घका राति घाटमै जाग्राम बस्न धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा प्रत्येक वर्षौदेखि सामाजिक नाटक गरिँदै आएको हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतोले बताउनुभयो ।
छठ मन्त्र
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
छठ पर्वको इतिहास
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाईन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाईन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताईन्छ । कात्तिक महिनामा मनाइने छठलाई कात्तिक शुल्क अर्थात ठूलो छठ र चैत महिनामा मनाइनेलाई चैत शुल्क अर्थात चैती छठ पर्व भन्ने गरिन्छ ।