महोत्तरी, पुस ६ ।
महोत्तरीको बर्दिवासमा दुई पालिकाका बाल क्लव तथा बाल संजालका पदाधिकारीहरुलाई बाल अधिकार, नेतृत्व विकास तथा बाल क्लव व्यवस्थापन विषयमा तालिम दिइएको छ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाका वडास्तरीय बाल क्लव तथा बाल संजालका पदाधिकारीहरुलाई तालिम दिएको छ । सो तालिममा एकडारा गाउँपालिकाका १२ वटा बाल क्लव र सम्सी गाउँपालिकाका १४ वटा बाल क्लव तथा बाल संजाल २७ जना पदाधिकारीलाई बाल अधिकार र नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ ।

स्पोन्सरसिप कार्यक्रम अन्तर्गत संचालित तीन दिवसीय सो तालिम वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपाल महोत्तरीले आयोजना गरेको थियो । पुस ४ गतेदेखि सुरुभएको सो तालिम पुस ६ गते समापन भएको संस्थाका प्रोजेक्ट कोर्डिनेटर श्यामसुन्दर साहले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष डेजी पाण्डेको अध्यक्षतामा भएको सो तालिममा प्रशिक्षक सुदिप चपागाईले सहभागी बालबालिकाहरुलाई प्रशिक्षण दिएको कोर्डिनेटर साहले बताउनुभयो ।

तालिममा बाल अधिकार, बाल क्लव गठन, संचालन, बाल क्लवको भुमिका, बालमैत्री स्थानीय शासन, यसका क्षेत्रहरु, महासन्धी तथा यसका सिद्धान्त, बालबालिकाको दायित्व तथा बाल क्लवका व्यवहारिक समस्या एंव समाधानका उपायबारे सहभागी बालबालिकालाई प्रशिक्षण दिएको संस्थाले जनाएको छ ।
यता यसअघि दलित समाज उत्थान समिति नेपाल महोत्तरीले रुपान्तरण समूहका साथीशिक्षकहरुलाई जीवन उपयोगी सीप तथा आत्मरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम समेत प्रदान गरेको जनाएको छ । १० दिनसम्म संचालन भएको सो तालिममा एकडारा र सम्सी गाउँपालिकाका २६ जना साथी शिक्षकको सहभागी रहेको थियो । वल्र्डभिजनको सहयोगमा नै सो तालिम संचालन गरिएको कुरा संस्थाका कोर्डिनेटर साहले जानकारी दिनुभएको छ ।