स्वागतम खबर
ढल्केवर, पुस २३ ।
धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका सयौं जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार ढल्केवरमा नेकपा एमाले नगर कमिटीलेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र एकिकृत समाजवादी पार्टी परित्याग गर्दै एकसय चार जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
नव प्रवेशी नेता कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, मधेश प्रदेश सांसद हरिनारायण महतो, संताेष यादव, राजाराम महतो, ताराकुमारी लामा बस्नेत लगायतका नेता/नेतृले गम्छा, अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । एमालेमा प्रवेश गर्ने नेता कार्यकर्ताहरु अधिकांश कांग्रेस पार्टी परित्याग गरेर आएकाे एमालेका नेता राजाराम महताेले बताएका छन् ।
यता पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय सचिव एंव धनुषा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेसभित्र समस्या र कुरितिको चाङ्ग रहेको बताउनुभयाे । उहाँले अहिलेकाे सरकार जनताकाे नजरमा पुर्ण रुपमा असफल सावित भईसकेकाे ठाेकुवा गर्दै सरकार भ्रष्टाचारीमा लिप्त रहेकाे आराेप समेत लगाउनुभयाे । लोकतान्त्रिक व्यवस्था र विकासको नेतृत्व एमाले बाहेक अरु पार्टीले गर्न नसक्ने बताउँदै सचिव महासेठले एमाले नेतृत्वको सरकारले गरेकाे विकासका काम देखेर पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दावी गर्नुभयाे ।
यता साेही कार्यक्रमलाई सम्बाेधन गर्दै एमालेका नेता एंव प्रदेशसभा सदस्य हरिनारायण महताेले नेकपा एमाले विकास विराेधी नभई विकासप्रेमी पार्टी रहेकाे दावी गर्नुभयाे । अहिलेकाे सरकारकाे भ्रष्टाचारी शैलीकाे काम देखेर जनता आजित भएकाेले एमालेप्रति जनलहर बढ्दै गएकाे बताउनुभयाे ।
एमाले पार्टीका जनकपुरधाम उपमहानगरपालिका सचिव राजु साह र ढल्केवरका पार्टी कार्यकर्ता सर्वनाथ महतोको पहलमा कांग्रेसका क्रियाशील सदस्य नन्दकिशोर यादवसहित सयौं जना एमाले प्रवेश गरेको पार्टीका मिथिला नगर कमिटी अध्यक्ष दिपकजंग थापाले बताउनुभयाे ।