स्वागतम खबर
ढल्केवर, पुस २४ ।
धनुषाकाे ढल्केवरमा मंगलबार पर्यावरण अभियन्ता स्वर्गीय ओमप्रकाश महताे (दिलिप) काे चाैथाे स्मृति दिवस मनाइएकाे छ । स्मृति दिवसको अवसरमा “चुरे संरक्षणमा दिलिपको योगदान ” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियाे । ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानको आयोजनामा भएकाे वक्तृत्वकला प्रतियोगितामा मिथिला नगरपालिकाभित्रका माध्यमिक विद्यालयका प्रतियोगी विद्यार्थी सहभागीहरुले उल्लेखित शीर्षकमा आ-आफ्नाे विचार र तर्क राखेका थिए । प्रतियोगितामा न्यू होराइजन ईगलिस बोर्डिङ्ग स्कूलका सारदा सिंह प्रथम स्थान ल्याएकी छिन् । यस्तै सन् फ्लावर ईगलिस बोर्डिङ्ग स्कूलका सुगम पोखरेल दोस्रो र महेन्द्र माध्यमिक विद्यालयका आनन्दकुमार महतो तेस्रो भएका छन् । त्यस्तै, सार्वजनिक माविका मनिषकुमार महतो, चिल्ड्रेन गार्डेन इँगलिस बोर्डिङ्ग स्कूलका धिरज सिंह र महेन्द्र माविकै शिवजीप्रसाद दाहालले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगीहरुलाई वन निर्देशनालयका अधिकृत एवम् पर्यावरण संरक्षण अभियानी सुरेश शर्मा, भू तथा जल संरक्षण समाज मधेश प्रदेशका अध्यक्ष बेचनकुमार महतो, वडाध्यक्ष नन्दकिशोर यादव, प्रतिष्ठानका अध्यक्ष सँगमकुमारी महतोलगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए । पुर्व प्रदेश वनमन्त्री शत्रुधन महताेकाे प्रमुख आतिथ्यमा स्मृति दिवस मनाइएकाे छ ।
धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका पर्यावरण संरक्षण अभियन्ता दिलिपलाई २०७६ साल पुस २५ गते बिहान औरही खोलामा हत्या भएको थियो । घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर उनको हत्या गरिएको थियो । उनको हत्या अभियोगमा जिल्ला अदालत धनुषाले २०७९ फागुनमा तीन जनालाई साढे १२ वर्षदेखि २५ वर्षसम्मको कैद सजाय आदेश दिएको छ ।