स्वागतम खबर
महेन्द्रनगर, माघ १२ ।

माघे संक्रान्ति पर्व २०८० को अवसरमा धनुषाको मिथिला नगरपालिका ३ मगरटोलमा संचालित प्रथम खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक लाफा युवा क्लवले हात पारेको छ । मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरको मगरटोलस्थित फुटबल मैदानमा आयोजक लाफा युवा क्लव र धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोलको एम एफ सी युवा क्लवबीच भएको फाइनल प्रतिस्पर्धामा आयोजक टिमले जित हात पारेको छ ।


सो खेलमा लाफा युवा क्लवले पेलान्टीमा एम एफ सी युवा क्लवलाई ५ का विरुद्ध ६ गोल गर्दै उपाधी जितेको छ । निर्धारित समयभित्र खेल एक एक गोलको बराबरीमा पुगेपछि पेलान्टी भएको थियो । पेलान्टीमा पनि दुवै टिमबाट पाँच पाँच गोल भएपछि थप गरिएको एक एक शुटआउटमा एम एफ सी युवा क्लवका खेलाडी गोल गर्न चुकेका थिए ।
प्रतियोगिताको उपाधी जितेको टिमलाई प्रथम पुरस्कार वापत नगर रु. २५ हजार र शिल्ड प्रदान गरिएको छ । यस्तै दोस्रो भएको टिमलाई पुरस्कार वापत रु. १५ हजार नगद र शिल्ड प्रदान गरिएको आयोजक लाफा युवा क्लवका अध्यक्ष उमेशजंग गजमेरले जानकारी दिनुभयो । यस्तै प्रथम र दोस्रो भएको दुवै टिमका खेलाडीहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता टिमलाई खेल समापन समारोहका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य हरिनारायण महतोले पुरस्कार र शिल्ड प्रदान गर्नुभएको थियो । यस्तै दोस्रो भएका टिमलाई विशिष्ट अतिथि वडाअध्यक्ष रामएकवाल महतोले शिल्ड र पुरस्कार प्रदान गर्नुभएको थियो ।


सो प्रतियोगिताको बेस्ट डिफेण्डरको पुरस्कार लाफा युवा क्लवका हेमन्त भुजेललाई प्रदान गरिएको छ भने बेस्ट गोल किपरको पुरस्कार लाफा युवा क्लवकै शक्ति मगरलाई प्रदान गरिएको छ । यस्तै प्रतियोगिताको बेस्ट प्लेयरको पुरस्कार एम एफ सी युवा क्लवका सिद्धान्त लामालाई प्रदान गरिएको क्लवका अध्यक्ष गजमेरले जानकारी दिनुभयो । सो प्रतियोगितामा १० वटा फुटबल टिम र क्लवको सहभागिता रहेको थियो ।