स्वागतम खबर
ढल्केवर, माघ २९ ।
धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र अपाङ्गता समन्वय समितिका पदाधिकारीहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी जानकारी दिने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजना तथा स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड एवं द एशिया फाउण्डेशको सहयोग र मिथिला नगरपालिकाको समन्वयमा भएको सो अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले नगरपालिकामा अपाङ्गता समावेशी विकासका लागि नौ बुँदे प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोषाध्यक्ष कुमार रेग्मीको अध्यक्षता तथा मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा भएको अभिमुखिकरणमा अपाङ्गता समावेशी विकासका लागि अपाङगता समन्वयन समिति र पालिकाले गर्नुपर्ने काम, कर्तव्य, बजेट, भौतिक संरचना लगायतको विषयमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य दिपा देवकोटा र सतिशचन्द्र झाले प्रस्तुतिकरण गरेका थिए ।
अपाङगता पूर्णतया सामाजिक सवाल हो, यो विभेद, अवरोध, सामाजिक भेदभाव र असमान व्यवहारबाट सृजित अवस्था रहेकाले अपाङ्गता समावेशी विकासका लागि हालको ऐन कानुन र कार्यविधी पनि सोहि अनुसार संसोधन गर्नुपर्ने सहभागीले कुरा उठाएका थिए ।
कार्यक्रममा मिथिला नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रामचन्द्र महतो, ७ का अध्यक्ष रामबहादुर स्यांगदन, ८ का अध्यक्ष विरेन्द्र महतो, १० का अध्यक्ष सविन विक्रम थापा, वडा नं. २ का वडासदस्य हरिकुमार यादव, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिलन श्रीवास्तव, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका प्रमुख प्रकाश नेपाली, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका दोभाषे रेजिना उप्रेती, महोत्तरी बहिरा संघका दोभाषे लक्ष्मी विश्वकर्मा, मिथिला नगरपालिका पैरवी समूहका सदस्य लालबाबु पासवान लगायतका उपस्थिति रहेको थियो ।
अपाङ्गता समावेशी विकासका लागि कार्यक्रममा सहभागीहरुले जनाएका प्रतिबद्धता निम्नलिखित छन् :
१. पालिकामा हुने हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिलाई समावेश गराउने ।
२. पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क साहयक सामग्री उपलब्ध गराउने ।
३. अपाङ्गता भएका व्यक्तिको लागि सीपमूलक तालिमको लागि बजेट छुटयाउने ।
४. नगरपालिकामा दोभाषेको अनिवार्य रुपमा व्यवस्था गर्ने ।
५. अपाङ्गता भएका व्यक्ति (बहिरा( को लागि पालिकास्तरीय सांकेतिक भाषाको तालिम व्यवस्था गर्ने ।
६. पालिकामा सहायता केन्द्रको स्थापना गर्ने ।
७. अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन गर्ने ।
८. अपाङ्गता क्षेत्रका लागि बजेट विनियोजन गर्ने ।
९.अपाङ्गता भएका व्यक्तिको सवाल र हक अधिकार सुनिश्चित गर्ने ।