गोविन्द सुवेदी
बिहान–बिहानै आफूलाई असाध्यै माया गर्ने श्रीमती र छोरीहरु छाडेर कार्यक्षेत्रका लागि हिंडियो । श्रीमतीजीले तयार पारेको नास्ता खाएर निस्किनै लाग्दा ६ वर्षकी सानी छोरीले अंकमाल गरिन् । उनको अंकमालमा स्नेहभावको जादु थियो ।
मैले हिजोअस्तिको ‘हग डे’ सम्झें । मलाई लाग्यो यस्तो ‘हग डे’ कुनै खास समूह र दिनमा सिमित हुनु हुँदैन् । परिवारका सदस्यहरुबीच यो दैनिकजसो हुन जरुरी छ । हजुरबा–हजुरआमासंग, बाआमासंग, दाजुभाइसंग, दिदिबहिनीसंग, छोराछोरीसंग, श्रीमान–श्रीमतीबीच, साथीभाइसंग ।
हामी हाम्रो आधा जिन्दगी त आडम्बरमै बाँच्दा रैछौं । भित्रभित्रै माया हुन्छ । व्यक्त गर्न सक्दैनौं । स्वभावतः छोराछोरीहरु आमाको नजिक हुन्छन् । बुवासंग समदुरी कायम गर्छन् । हरेक छोरालाई आफ्ना बुवालाई अंकमाल गर्ने रहर हुन्छ । हरेक बुवालाई पनि छोराप्रति त्यस्तै भाव हुँदो हो । मलाई एकजना बुवा र छोराकारुपमा त्यसै हुन्छ । तर, बुवासंग प्रेमभाव खुलेर व्यक्त गर्न सकिदैन् । छोरीहरुसंग स्वभाविकरुपमा त्यो भाव प्रकट हुन्छ । यो उमेरको पनि कुरा रहेछ । र, उमेरसंगै जोडिने लज्जाभावको पनि । अब यस्तो लज्जाभाव त्यागेर, प्रेमीप्रेमिकालाई झैं परिवारका सदस्यहरुलाई पनि हग गर्न युवापिढी तत्पर रहनु अपरिहार्य भैसकेको महसुश भयो ।
“फ्यामेली हग डे एण्ड एभ्रिडे” भन्ने भावसहित अघि बढ्नसके दिनानुदिन बढ्दै गएका व्यक्तिका पारिवारिक, समाजिक तथा मानसिक समस्याहरु समाधानमा समेत टेवा पुग्ला कि भन्ने लाग्यो । र, यस्तै–यस्तै सोच्दासोच्दै छोरीलाई हात हल्लाएर एयरपोर्टतर्फ लागें ।
जहाज केही समय ढिलो उड्ने भयो । आज सरस्वती पुजा पनि प्रेम दिवस पनि । यसो केही लेख्न मन लाग्यो । मोबाइलमा किप्याड चलाउँदै खाली समयको सदुपयोग गरियो । यात्रा पनि सुरु भयो ।
ढिलोगरी भएपनि जहाज जनकपुरका लागि उड्यो । मौसम खराब थियो । ठुल्ठूला ढुंगा राखेर सम्याउनुअघिको भर्खरैको ग्राभेल बाटोमा स्पीडमा कुदेको ट्रकजस्तै फालौंला झैं गरी जहाज उडिरह्यो । करिब १२ः३० तिर जनकपुर पुग्दा यहाँको मौसम पनि काठमाण्डौ झैं धुम्म थियो । अँध्यारो । आफूले जाडोको डरले उतैबाट न्यानो लुगा लगाएर आएको थिएँ । तर जनकपुर आज चिसोबीच पनि पातला पहिरनमा सजिएको थियो– सारी, लेहंगा, कुर्था सुरवाल, सर्ट, पाइन्ट आदि । म मानिसले लगाएको लुगाभन्दा मानिसको दृष्टिकोणमा दोष देख्ने व्यक्ति हुँ । तर, यहाँ मैले जोड्न खोजेको कुरा किशोरावस्था, निर्णय क्षमता र परिपक्वता संग सम्बन्धित छन् ।
तराईंको सरस्वती पूजालाई मिनी भ्यालेन्टाइन्स डे भनेर २०२० तिरै लेखेको हुँ । संयोग कस्तो पर्योभने यस वर्ष भ्यालेन्टाइन्स डे र मिनी भ्यालेन्टाइन्स डे एकैदिन परेछन् । यतिभएपछि, केटाकेटीहरुले सरस्वती मातालाई विद्यालयमा मात्र सिमित राख्ने त कुरै भएन् ।
जहाजकै स्पीड पकडेका बाइकहरु, हेल्मेटबिनाका टाउका, एकै साधनमा तीनदेखि चारजनासम्मको सवारी, लाग्थ्यो कुनै महामारी वा आपतकाल चलिरहेकोछ । र, त्यसैका लागि सबै दौडधुपमा छन् । कुनै साधनमा केटैकेटा, कुनैमा केटाकेटी यसरी हुँइकिरहेका थिए, मानौ उनीहरुको जिन्दगीको अन्तिम ट्रेन छुट्नै लागेको छ । र, त्यो छुट्योभने अब कहिल्यै भेटिनेवाला छैन् । उनीहरुका हातमा ती हेवी बाइकहरु कसले थमायो होला ? लाइसेन्स छ होला त ? अप्ठ्यारो अवस्थामा नअताल्लिएर बाइक कन्ट्रोल गर्ने मनस्थितिमा होलान त ? यस्तै प्रश्नहरुले चिमोटीरह्यो । यसको बिद्रुप रुप देख्न सकिन्थ्यो, जनकपुर टु ढल्के सिक्सलेन सडकमा ।
धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मधेशलाई धार्मिक एवं सांस्कृतिक विकृतिबाट नजोगाउने हो भने यस क्षेत्रको पहिचानको संकट निम्तिनसक्ने खतराबारे सबै बेलैमा सचेत हुन् जरुरी छ ।
मलाई जनकपुरबाट मिर्चैया पुग्नु थियो । पिडारी चोकमा माइक्रो चढें । तीनचार जना सुटेडबुटेड किशोरहरु मैं चढेको माइक्रोमा चढे । उनीहरुमा सरस्वती पूजाको रौनक स्पष्ट देख्न सकिन्थ्यो । हामीबाहेक माइक्रोमा अबेरसम्म कोही थपिएको थिएन् । उनीहरु आफूहरुलाई कतै पुग्न हतारभएको भन्दै चालकलाई छिटो अगाडि बढ्न दबाब दिन्छन् । चालकले हिड्नको लागि गाडी भरिनुपर्ने बताउँछन् ।
यत्तिकैमा आँखामा बगरिहेको आँशु अनि रोदन मिश्रित आवाज लिएर एकजना पैंतिस छत्तिस कि जस्ती देखिने महिला हतार–हतार माइक्रो चढ्छिन् । उनीसंगै डराएका तर सुकुमार देखिने सात आठ वर्षका साना बाबुहरु पनि भित्र पस्छन् । उनले रुँदै गाडी छिटो कुदाइहाल्न चालकलाई अनुनय गर्छिन् । उनलाई मिर्चैयाभन्दा अझै अगाडि उनको माइती पुग्नु रहेछ । मेरो मनले चुप्प बस्नै मानेन् ।
म चालक छेउको सिटमा अघिल्तिर थिएँ । पछाडि फर्केर सोधें, ‘किन रुनुभएको ? के भयो ?’ उनले आफूलाई श्रीमानले रक्सी खाएर कुटपिट गर्ने गरेको र आजपनि कुटेकाले सहन नसकि माइती हिँडेको बताइन् । ‘यिनीहरु को हुन् ?’ मैले बच्चाहरुतर्फ देखाउदै सोधें । उनीहरु छोराहरु भएको बताइन् । श्रीमानले खोज्दै हिँडेको र भेटेमा अहिले नै आएर फेरि कुटपिट गर्नसक्ने डर रहेछ उनलाई । मैले आत्तिनु पर्दैन हामी छौं भन्दै प्रहरीलाई खबर गरौं त, भनेर सोधें । उनले आफ्नो श्रीमान् फरक स्वभावको भएको र प्रहरीलाई खबर गरे अझै अप्ठ्यारो पार्ने बताइन् । केही समयको पर्खाइपछि माइक्रो हुँइकिन्छ । उनी शान्त हुन्छिन् । उनको फरक स्वभावको श्रीमानलाई कसरी झेलिरहेकी होलिन् भन्ने सोँच्दै मनमा पिडा भैरह्यो । ती बच्चाहरुको डराएको मलिन अनुहारले हृदयलाई चिमोटिरह्यो ।
तर, अझैपनि थुप्रै प्रश्नहरु अनुत्तरित हुन्छन् । आज माता सरस्वतीको पूजा हुने दिन । प्रेम दिवस पनि । र, ती नारी जस्ता कति नारी होलान् जो आजको दिन कुनै न कुनै रुपमा अरुको दुर्व्यवहारको शिकार भए होलान् ? अरुकसैसंग डराएर, दबिएर, पिल्सिएर बसेका होलान् ? प्रसस्त कानून हुँदाहुँदै पनि बोल्न नसक्ने भएर निरिह बनेका होलान् ? कतिलाई उनीहरुका न्यूनतम् अधिकारबारे जानकारी र ज्ञान छ होला ? कतिलाई आफू पनि अरु समान मानिस हुँ भन्ने न्यूनतम् अस्तित्वको बोध होला ? एकातिर सरस्वती र लक्ष्मीको पूजा हुँदैगर्दा अर्कातिर हरेक घरमा सरस्वती र लक्ष्मीहरु प्रताडित भैरहने कहिलेसम्म ?
मोबाइलमा यो सबै टाइप गर्दागर्दै म मिर्चैया आइपुग्छु । यहाँ आउँदा केहीबेर अघिसम्म डिजे घन्किरहेका थिए, मेरै डेरा वरिपरि । गीत भोजपुरी । पारिवारिक माहोलमा सुन्नै लाज लाग्ने शब्दहरु । भोली फेरि बज्नेछन् डिजे । नसामा हुनेछन्, युवाहरु । गरिनेछ सरस्वतीको मुर्ती विसर्जन । बज्नेछन् त्यस्तै–त्यस्तै गीतहरु । झुम्नेछन् युवाहरु । बचेछभने जम्मा गरेको पैंसा, फेरि नाच हुनेछ सन्ध्यामा–भोली पर्सीसम्मै ।
यो सांस्कृतिक विचलनलाई कसले रोक्ने ? जिम्मेवारहरु कहिलेसम्म हेरेर बस्ने ?
(यो यात्राको क्रममा बाटाभरि देखिएको दृश्यको कथावस्तु हो । लेखकले गरेको अनुभव र देखेको दृश्यलाई शब्दमा उतारेकाले कसैसँग मेल खाएमा एउटा संयोग मात्र हुनेछ ।)