ए समय, मलाई अलिकति समय देऊ न
ए समय, मलाई अलिकति समय देऊ न
एक पटक चुमेर फर्किनुछ त्यो मीठो बालापन
एक पटक झुमेर नाच्नुछ बालसखासंग
पाठी झैं बुर्कुसी मार्नुछ खेत र कान्लाहरुमा
बतास झैं सुुसेल्नुछ ती बनपाखाहरुमा
डल्फिन झैं डुबुल्की मार्नुछ ती खोलाहरुमा
चिप्लेटी खेल्नुछ खोलाको डिलबाट
ए समय, मलाई अलिकति समय देऊ न
अझै पुगेको छैन् बाआमासंग लुटुपुट गर्न
पुगेको छैन् भाइबहिनीसंग चकचक गर्न
पुगको छैन् मेरा गाउँलेहरुको जन्ती जान
फेरि दालभातको स्वाद लिन मन छ टपरीमा
चाडबाडमा छिमेकीहरुसंग रमाउन पुगेको छैन्
पुगको छैन् साथीसंगी संग गोठालो जान
ए समय, मलाई अलिकति समय देऊ न
आमाले मोही पार्दापार्दैको नौनी खानुछ मलाई
आमासंगै घाँस काट्न जानु छ मलाई
बाको हातबाट जोत्दा जोत्दैको हलो समाउनुछ
मह काट्न जानुछ साथीहरुसंग
त्यो हावा, वर्षात, हिलो, मैलो सबै महशुस गर्नुछ
एकपटक फर्केर बाँच्न मन छ जिन्दगीलाई
ए समय, मलाई अलिकति समय देऊ न
मलाई मेरी प्रेमिका भेट्न मन छ
उ मबाट टाढिनुको कारण सोध्नु छ मलाई
फेरि स्कूले जीवन बाँच्नुछ
अलि अलि नाच्न जानेको छु अचेल
फेरि बच्चा बनेर यस्तै नाच्नुछ
कैंची स्टाइलमा साइकल चलाउनुछ
लय नमिलेर के भो त बिन्दास गीत गाउनुछ
ए समय, मलाई अलिकति समय देऊ न
म जहाँ थिएँ, एक पटक त्यहीँ पुगरे आउनुछ ।
गोविन्द सुवेदी