स्वागतम खबर
ढल्केवर, फागुन ७ ।
धनुषाको बटेश्वर गाउँपालिकामा फाल्गुन १३ गते देखि २१ गतेसम्म दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । बटेश्वर गाउँपालिकाको २० वटा खोप केन्द्र, स्थास्थ्य चौकी, सामुदायिक तथा संस्थागत विद्यालयमा खोप अभियान संचालन गर्न लागेको पालिकाले जनाएको छ ।
जिल्लामा दुई चरणमा संचालन गर्न लागिएको दादुरा–रुबेला बिरुद्धको खोप अभियान अन्तर्गत पहिलो चरणमा बटेश्वर गाउँपालिकामा फाल्गुन १३ गते देखि २१ गते सम्ममा २० वटा खोप केन्द्र, स्थास्थ्य चौकी, सामुदायिक र संस्थागत, मदरसामा खोप लगाइने पालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्रनारायण यादवले जानकारी दिनुभयो ।
पालिकाको सभाकक्षामा सोमबार आयोजित पालिकास्तरीय खोप समन्वय समितिको लागि एकदिने अभिमुखिकरण गोष्ठीलाई सहजिकरण गर्दै स्वास्थ्य शाखा प्रमुख यादवले दादुरा–रुबेला रोगका महामारी विभिन्न जिल्लाहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सरकारले दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०–८१ संचालन गरेको बताउनुभयो ।
उहाँले पालिकाको ५ वटै वडामा लक्षित समूहमा पर्ने ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाई भएको हुँदा सबै सरोकारबाला निकायलाई खोप अभियानलाई सफल पारिदिन आग्रह गर्नुभयो । शाखा प्रमुख यादवले पालिकामा खोप भण्डारणका लागि फ्रिजको व्यवस्था गरिदिन गोष्ठीमा सहभागी जनप्रतिनिधीहरुलाई आग्रह समेत गर्नुुभयो । पालिकामा विभिन्न खोप राख्न तापक्रम सन्तुलन राख्ने फ्रिज नहुँदा समस्या हुँदै आएको छ ।
बटेश्वर गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी सिंहको अध्यक्षतामा भएको सो गोष्ठीमा वडा नंं. का वडाअध्यक्ष अशोक कुमार महतो, २ का अध्यक्ष विजय कुमार महतो, ४ काअध्यक्ष निरज कार्की, ५ का अध्यक्ष शिवकरण यादव लगायत स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक एंव शिक्षक प्रतिनिधीहरुको सहभागिता रहेको थियो । यता गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै पालिकाका उप प्रमुख सिंहले छिट्टै खोप राख्ने फ्रिजको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।