स्वागतम खबर
ढल्केवर, फागुन ३० ।
धनुषाकाे मिथिला नगरपालिकाका ढल्केवरमा बुधवारदेखि नगर आकस्मिक स्वास्थ्य सेवाकाे सुरुवात गरिएकाे छ । मिथिला नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष नन्दकिशोर यादवकाे अध्यक्षता तथा नगर प्रमुख महेन्द्र महताेकाे प्रमुख आतिथ्यमा नगर आकस्मिक स्वास्थ्य सेवाकाे उद्घाटन गरिएसँगै सेवाकाे सुरुवात भएकाे छ । नगरपालिकाकाे वडा नं. ६ स्थित ढल्केबरमा अवस्थित स्वास्थ्य चौकी परिसरभित्र रहेका भवनलाई स्तरोन्नती गरी आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो ।
नागरिकलाई चौबिसै घण्टा आकस्मिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको नगर आकस्मिक स्वास्थ्य सेवाको उद्घाटन मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो र उपप्रमुख सुनितासिंह बुढाथोकीले गर्नुभयो ।
उद्घाटनको गर्दै नगरप्रमुख महतोले आकस्मिक सेवा सुचारु भएसँगै सडक दुर्घटनाका घाइते तथा नगरवासीलाई चर्को शुल्क तिरेर उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।
आकस्मिक उपचार सुविधा नहुँदा यहाँका जनताले थुप्रै समस्या झेल्दैआएको बताउँदै नगरप्रमुख महतोले नगरवासीका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले आकस्मिक सेवा सञ्चालनमा लागेको सम्पूर्ण खर्च नगरपालिकाको आफ्नै बजेटबाट गरिएको र उपचारका लागि चाहिने आवश्यक स्वास्थ्य उपकरण, ल्याब मेसिन तथा जनशक्तिको व्यवस्थापन भइसकेको र एक्स–रे मेसिनलगायतका थप उपकरणको व्यवस्थापन गर्दै जाने बताउनुभयो ।
यता कार्यक्रममा उपप्रमुख सुनितासिंह बुढाथोकीले आकस्मिक सेवा सञ्चालनसँगै जनप्रतिनिधिको काँधमा थप जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले कुनै पनि काम नीति नियममा रहेर गर्नुपर्ने बताउँदै काँधमा काँध मिलाएर विकासको काम गर्नुेपर्ने जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक भण्डारीले चौबिसै घण्टा खुला रहने आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि आकास्मिक उपचारका लागि नीजि उपचार केन्द्रमा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने बताउनुभयो ।
उहाँले आकस्मिक स्वास्थ्य सेवामा दुई जना एमबीबीएस, चार जना एचए, चार जना अनमी, दुई जना स्टाप नर्स, दुई जना स्वीपर र फार्मेसीमा दुई जनालाई राखिएको जानकारी दिनुभयो । उहाँले अस्पताल हाताभित्र नगरपालिकाको आफ्नै मार्फेमी पसलसमेत रहने बताउँदै अस्पतालले निःशुल्क उपलब्ध गराउने औषधिबाहेकको औषधि फार्मेसीबाट खरिदमा सेवाग्राहीलाई छुटको व्यवस्था गरिएको बताउनुभयो । तर ५० रुपैयाँकाे टिकट भने विरामीले कटाउनु पर्ने भण्डारीले बताउनुभयाे ।
उद्घाटनकाे अवसरमा साे अवसरमा वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायत कर्मचारी र स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।