स्वागतम खबर
महेन्द्रनगर, चैत ४ ।
मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिनको मिथिला माध्यमिकी परिक्रमा आज (आइतवार) महोत्तरी जिल्लाको कञ्चनवनमा पुगेको छ । मिथिला परिक्रमा मार्गको ८औं पडाव स्थलको रुपमा रहेको धार्मिक तथा पवित्र स्थल कञ्चनवनमा आएपछि स्थानीयहरुले स्वागत सत्कार गर्दै निःशुल्क भोजन शिविर, स्वास्थ्य शिविर लगायतको व्यवस्थापन समेत गरेका छन् ।
ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवनमा परिक्रमा यात्रीको स्वागत र सेवा सत्कारका लागि विहानैदेखि जुटेका छन् । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीको स्वागतका लागि भंगहा नगरपालिकाले पनि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरेको जनाएको छ । भंगहा नगरपालिकाका प्रमुख संजिव साहका अनुसार परिक्रमामा सहभागी श्रद्धालु, भक्तजनका लागि पुवा, खीर, सर्वत, अबिर, फुलमालाको व्यवस्था गरिएको छ भने त्यहाँ होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमको पनि तयारी गरिएको छ ।
यता परिक्रमा यात्रीलाई लक्षित गर्दै स्थानीय संघसंस्था, समाजसेवी र दाताहरुले पनि टेण्ट पण्डाल लगाएर निःशुल्क बालभोग भोजन, भोजन, स्थास्थ्य शिविरको व्यवस्थापन गर्दै सेवा दिइरहेका छन् । परिक्रमायात्रीहरुलाई स्थानीय धनलुटिया यादवले समाजसेवी स्व.रामो यादवद्धारा संकल्पित बालभोग भोजन गराउँदै आएका छन् । स्व. यादवका छोरा समाजसेवी तथा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेश प्रसाद यादवले परिक्रममा सहभागी यात्रु, तिर्थालु, भक्तजनहरुको सेवा सत्कारका लागि प्रत्येक वर्ष कञ्चनवनमा बालभोग भोजनको व्यवस्थापन गर्दै आएको बताउनुभयो । बालभोग भोजनका लागि सहयोगी हात तथा दाताहरुको स्वेच्छाले सहयोग जुटाउने गरेको भएपनि अपुग सबै खर्च आफैले व्यवस्थापन गर्ने गरेको समाजसेवी यादवले जानकारी दिनुभयो ।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खेलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने गर्दछन् । कञ्चनवनमा श्रद्धालुले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्राम गर्ने गर्दछन् । वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।
भिडियो