स्वागतम खबर
ढल्केवर, चैत २४ ।
धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा शनिबार आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा दुई सय ११ जनाले रगत दान गरेका छन् । मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंह रगत प्रदान गरेर रक्तदान कार्यक्रमकाे शुभारम्भ गर्नुभएकाे थियाे ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री सिंहले एक सयभन्दा बढी पटक आफूले रक्तदान गरेको बताउनुभयाे । प्रदेशका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने आफ्नो योजना रहेको जानकारी दिँदै उहाँले चैत १० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रुपमा पदभार ग्रहण गरे लगतै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णयसमेत गरिएको बताउनुभयाे ।
मिथिला उद्योग बाणिज्य संघ ढल्केवर, मिथिला ब्याडमिन्ट क्लब, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, लायन्स क्लव अफ मिथिला, मिथिला नगर पत्रकार संजाल लगायत करिव आधा दर्जन स्थानीय क्लब तथा संघसंस्थाले आयोजना गरेको वृहत्त रक्तदान कार्यक्रममा यति भारी संख्यामा रगत दान गरिएकाे थियाे ।
साे अवसरमा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महताे, उप प्रमुख सुनितासिंह बुढाथाेकी, वडा नं. ७ का अध्यक्ष रामबहादुर स्यांगदन, नेपाल रेडक्रस धनुषाका सभापति नरेश सिंह लगायतकाे उपस्थिति रहेकाे मिथिला ब्याडमिन्टन क्लवका अध्यक्ष संताेष कुमार महताेले जानकारी दिनुभयाे ।