स्वागतम खबर
ढल्केवर, जेठ ४ ।
धनुषाको मिथिला नगरपालिकामा शुक्रवार बालिका तथा समावेशी शिक्षा संजाल रणनीति २०८० र बालिका तथा समावेशी शिक्षा संजाल गठन तथा संचालन सम्बन्धी मापदण्ड २०८० बारे प्रबोधीकरण कार्यक्रम गरिएको छ । स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा संजालको गठन र प्रभावकारी परिचालन मार्फत बालिका, सिमान्तकृत समुदाय तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र सिकाइ उपलब्धि सुधार तथा टेवा पुग्याउने उद्देश्य सहित प्रबोधीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा संघीय शिक्षा मन्त्रालयका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. गणेश भट्टराईले बालिका तथा समावेशी शिक्षा संजाल रणनीति २०८० र बालिका तथा समावेशी शिक्षा संजाल गठन तथा संचालन सम्बन्धी मापदण्ड २०८० को बारेमा जानकारी गराउँदै निःशुल्क शिक्षा सम्बन्धि सम्बन्धी कानुनको प्रभावकारी रुपमा कार्यान्वय गर्ने मापदण्डको मूल उद्देश्य रहेको बताउनुभयो । कार्यक्रमलाई सहजीकरण गर्दै निर्देशक भट्टराईले बालिका तथा समावेशी शिक्षा संजालको काम, कर्तव्य, अधिकार, गठन प्रक्रिया र समावेशी शिक्षाका लागि खेल्नु पर्ने भुमिका लगायतको विषयमा प्रष्ट पार्नुभयो ।
यता बालिका तथा समावेशी शिक्षा संजाल रणनीति २०८० र बालिका तथा समावेशी शिक्षा संजाल गठन तथा संचालन सम्बन्धी मापदण्ड २०८० अनुसार पालिकामा संजाल गठन र रणनीतिक योजना तयार गर्ने, आवश्यक कार्यक्रम र बजेट व्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारी र समाजिक विकास संयोजक तथा वडा नं. ७ का वडाअध्यक्ष एवं प्रवक्ता रामबहादुर स्यांगदनको प्रतिबद्धता जनाउनुभयो ।
मिथिला नगरपालिकाको आयोजना तथा साझेदार संस्था युनिसेफ नेपाल, व्रिटिस काउन्सिल, एजुकेशनल पेजेज लगायतको सहयोगमा भएको सो कार्यक्रमबाट बालिका तथा समावेशी शिक्षा संजाल संचालन तथा व्यवस्थापन मापदण्ड २०८० अनुसार नगरस्तरीय बालिका तथा समावेशी शिक्षा संजाल गठन र रणनीतिक योजना तयार गर्ने निर्णय समेत गरिएको शिक्षा शाखा प्रमुख सीता काफ्लेले जानकारी दिनुभयो । यस्तै नगरस्तरीय बालिका तथा समावेशी शिक्षा संजाल मार्फत विद्यालय तहबाट आएका सम्बोधन हुन नसकेका गुनासोहरुलाई संयन्त्र मार्फत व्यवस्थापन गर्न विद्यालयस्तरीय संयन्त्रलाई पुन गठन गर्ने निर्णय समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
मिथिला नगरपालिकाका समाजिक विकास संयोजक तथा वडा नं. ७ का वडाअध्यक्ष एवं प्रवक्ता रामबहादुर स्यांगदनको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारी, वडा नं. ९ का वडाअध्यक्ष दिपकजंग थापा, एजुकेशनल पेजेजका राजेन्द्र प्रसाद उप्रेती, लवराज वली, व्रिटिस काउन्सिलका श्रीला सरकार, युनिसेफ नेपालका शिक्षा कन्सल्टेन्ट सुरेन्द्र ढकाल लगायत मिथिला नगरपालिकाका माविका विद्यालय व्यवस्थापन समिति पदाधिकारी, प्राधानाध्यापक, मिथिला नगरपालिकाका बाल विकास संयोजक बविता खड्का, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।