स्वागतम खबर
ढल्केवर, जेठ १८ ।
धनुषाको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिकाको ढल्केवरमा स्थापना भएको मालपोत र नापी कार्यालयको एक समारोहकाबीच शुक्रवार उद्घाटन गरिएको छ । राष्ट्रियसभाका सदस्य आनन्द प्रसाद ढुङ्गाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा दुवै कार्यालयको उद्घाटन गर्नुभएको छ ।
कार्यालय उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य ढुङ्गानाले सङ्घीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रुपमा सेवा दिने उद्देश्यले ढल्केवर मालपोत र नापी कार्यालयको स्थापना भएको बताउनुभयो । मालपोत र नापी कार्यालय ढल्केवरमा स्थापनासँगै सञ्चालनमा आएपछि धनुषाको उत्तरी पश्चिम र पूवी भेगका जनतालाई जग्गा सम्बन्धी कामकाज गराउन सहज भएको भन्नुभयो । उहाँले जनताको कामसँग प्रत्यक्ष जोडिएको कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर जनतालाई सेवा प्रदान गर्न सुझाव समेत दिनुभयो ।
यता नेपाली कांग्रेसका सहमहामन्त्री यादवले ढल्केवर लगायत आसपासका पालिकाका नागरिकलाई जग्गा सम्बन्धी कामकाज गराउनका लागि अब सदरमुकाम जनकपुर जानु पर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
दुवै कार्यालय उद्घाटन भएसँग जग्गा सम्बन्धी सबै कामकाज सुरु भएको कार्यालयले जनाएको छ ।
ढल्केवर सञ्चालनमा आएको मालपोत र नापी कार्यालयले जिल्लाका साविकका गा.वि.स.ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुईचक्रपुर, शान्तिपुर, गोदार, भरतपुरलगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका सेवाग्राही जनतालाई सेवा प्रदान गर्ने बताइएको छ ।
यस क्षेत्रका जनप्रतिनिधी, राजनीतिककर्मी, युवा, समाजसेवी, पत्रकार लगायत सबैको लामो पहल र प्रयासपछि ढल्केवरमा मालपोत कार्यालय स्थापनासँगै सेवा सूचारु गरेकोमा जनता खुशी छन् । अब ढल्केवरमा ईलाका प्रशासन कार्यालय ल्याउनका लागि सबैले पहल गर्नुपर्ने आवश्यक रहेको स्थानीयहरुको भनाई छ ।