स्वागतम खबर
ढल्केवर, जेठ २३ ।
आज जून ५, अर्थात विश्व वातावरण दिवस । जून महिनाको ५ तारिखमा विश्वव्यापी रुपमा मनाइने वातावरण दिवसमा पृथ्वीलाई पर्यावरणमैत्री बनाउन वृक्ष रोपण सहित विविध कार्यक्रम गरिन्छ । यस वर्षको नारा भने ‘Land Restoration, Desertification and Drought Resilience’. अर्थात् भूमि पुर्नस्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने अर्थ लाग्दछ ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो । त्यसै ऐक्यबद्धता अनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै जून ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ । जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापन नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ । यस्तै २०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरण सम्बन्धी हकको व्यवस्था गरेको छ । नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।
तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको देखिन्छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुनुपर्ने अति आवश्यक रहेको वातावरण विज्ञ र सरोकारबलाहरु बताउँछन् । प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको नसकेको गुनासो सरोकारबहलाहरुको छ ।
वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा समेत पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।
अबको पुस्ताले भन्ने पर्यावरण बचाउन र स्वच्छ वातावरणमा बाँच्न पाउनका लागि भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु पर्छ । आगामी पुस्तालाई वातावरण र प्रकृतिमैत्री बनाउन र काठ हैन रुखलाई माया गर्न सिकाउनु पर्छ । रुख रोप्न र पानीका श्रोतलाई संरक्षण गर्न सिकाउनुपर्छ भन्ने कागज र कम्प्युटर हैन अब वास्तविकतामै जनावर र जङ्गल देख्ने अवस्था बनाउन सक्नुपर्छ ।