स्वागतम खबर
ढल्केवर, जेठ २५ ।
धनुषाको मिथिला नगरपालिकामा सुरक्षित खानेपानी तथा सरसफाइ सम्बन्धमा महिलाहरुलाई एकदिने अभिमुखिकरण तालिम दिएको छ ।
मिथिला नगरपालिकाको आयोजनामा भएको सुरक्षित खानेपानी तथा सरसफाइ सम्बन्धी अभिमुखिकरणमा वडा नं. १देखि ६ सम्मका महिलाहरुको सहभागिता रहेको बताइएको छ ।
उपमेयर सुनितासिंह बुढाथोकीको अध्यक्षतामा भएको सो अभिमुखिकरणमा सहभागी करिव तीन दर्जन महिलाहरुलाई सुरक्षित खानेपानीको उपयोगिता, फाइदा तथा सरसफाइ बारेमा अभिमुखिकरण गरिएको खानेपानी तथा सरसफाइ शाखाका गयाप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
अभिमुखिकरणलाई सम्बोधन गर्दै उपमेयर बुढाथोकीले सहभागी महिलाहरुलाई सुरक्षित खानेपानीका प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यका लागि पानी शुद्धिकरण गर्न र सुरक्षित पानी पिउन जरुरी रहेकाले पानीका स्रोत, मुहान र भण्डारण गर्ने भाँडोको सरसफाइमा पनि सबैलाई ध्यान दिन आग्रह गर्नुभयो । अभिमुखिकरणमा खानेपानी तथा सरसफाइका सहजकर्ता विनोद कुमार महतोले सहजीकरण गर्नुभएको थियो ।
गुप्ताका अनुसार बाँकी रहेको वडाका महिलाहरुलाई पनि सुरक्षित खानेपानी तथा सरसफाइ विषयमा अभिमुखिकरण गरिने पालिकाका बाल विकास संयोजक बविता खड्काले जानकारी दिनुभयो ।