स्वागतम खबर
ढल्केवर, जेठ २९ ।
धनुषाको बटेश्वर गाउँपालिकामा पाँच राजनीतिक दल सम्बद्ध संघर्ष समितिले २० बुँदे मागसहित मंगलबार ज्ञापन पत्र बुझाएका छन् । पाँच राजनीतिक दल सम्बद्ध संघर्ष समितिले मंगलबार दिउँसो पालिकामा पुगेर गाउँपालिका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई संघर्ष समितिले नदीको अवैध नदी दोहन बन्द गर्नुपर्ने लगायत २० सुत्रिय माग सहित ज्ञापन पत्र बुझाउने जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराएका छन् ।
संघर्ष समितिका संयोजक रामप्रबोध महतोको नेतृत्वमा पालिकामामा पुगेका स्थानीय राजनीतिक दल, कार्यकर्ता, स्थानीय जनताहरुले गाउँपालिका अध्यक्ष रामअशिष महतो समय दिएर नभेटाएपछि उपाध्याक्ष फुलकुमारी सिंह र प्रमुख प्रशासकीय अधिकृत राजगीर महतोलाई ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिकाका वर्तमान जनप्रतिनिधिले जनतामुखि योजना नल्याएको, नियम कानुनकोधज्जी उडाउँदै कानुन विपरित काम गराउने गरेको, भ्रष्टाचारलाई प्रोत्साहित गरेको र काँग्रेसका नेता कार्यकर्ताको घरजग्गामा योजना केन्द्रीत गरेको भन्दै आन्दोलनको चेतावनी सहित समितिले ज्ञापन पत्र बुझाएको संघर्ष समितिका संयोजक रामप्रबोध महतोले जानकारी दिनुभयो । उहाँले ज्ञापन पत्रमा उल्लेखित मागहरुबारे पालिका अध्यक्ष, उपाध्यक्ष लगायतको जनप्रतिनिधीहरु गम्भीर नभए र माग पुरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिँदै यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार पालिका अध्यक्षलगायत सम्बन्धित सरोकारबला हुने बताउनुभयो ।
संघर्ष समितिले गाउँपालिकाभरिका विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक स्थलहरुमा यथासिघ्र सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्ने, कमिसन खान गैर कानुनी ढङ्गले भईरहेको खोलाको अवैध उत्खनन बन्द गर्नुपर्ने, सिँचाइको लागि ईनार, स्यालोटियूवेल र डिप बोर्डिङ्ग लगायत यथाशीघ्र संचालनमा ल्याउनुपर्ने माग राखेको छ ।
यस्तै पालिका अध्ययक्ष, वडाअध्यक्ष तथा अन्य जनप्रतिनिधि र काँग्रेसको कार्यकर्ताको घर खेतमा ईनार, बोडिङ्ग र जग्गा प्लटीङ्ग गरी सडक र विद्युतीय करण हुने योजना तत्काल बन्द गर्नुपर्ने, पाँचै वडामा किसानको लागि उन्नजातको बिउ, विजन र खाद्य मल सहुलियत दरमा सहज तरिकाले वितरण हुनुपर्ने, शिवशक्ति मावि र जनप्रयि मावि लगायत सम्पूर्ण विद्यालयहरुमा कानुन अनुसार विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने, विद्यालयमा राजनैतिक करण बन्द गर्नुपर्ने लगायतको २० सुत्रिय माग समितिले गरेका छन् ।
नेकपा एमालेका पालिका अध्यक्ष रामखेलावन महतो, नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष पदम लामा, जनमत पार्टीका रामपरिक्षण महतो, एकीकृत समाजवादीका रामअशिष महतो र राप्रपाका बृजलाल महतो सहित सयोंको संख्यामा स्थानीय जनताहरु ज्ञापन पत्र बुझाउन पालिकामा पुगेका थिए ।
यता संघर्ष समितिले ज्ञापन पत्र बुझाउन पुगेको बेला पालिकामा तनाव समेत उत्पन्न भएको थियो । पालिका अध्यक्ष रामअशिष महतो अनुपस्थित हुँदा दलहरुले पालिका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएर फर्किरहेको बेला वडा नंं ४ का वडासदस्य रामपृत महतोले अपशब्द प्रयोग गरेको र आफु नै पालिका अध्यक्षको तर्फबाट जवाफ दिने भनेपछि विवाद उग्र रुप लिएको संघर्ष समितिको एक नेताले बताउनुभयो । विवादको क्रममा गाउँपालिका बस्ने कोठाको ढोका समेत आक्रोशित भीडले फुटाइ दिएको छ । विवादपछि केही वडाअध्यक्ष, राजनीतिकर्मी र सशस्त्र र जनपद प्रहरीको रोहवरमा वडासदस्य महतोले माफी मागेपछि विवाद साम्य भएको समितिका संयोजक महतोले जानकारी दिनुभयो । बटेश्वर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बाहेक गाउँपालिकामा सबै जनप्रतिनिधि काँग्रेसबाट जितेका जनप्रतिनिधी छन् ।