स्वागतम खबर
जनकपुरधाम, असार १५ ।
“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” मुल नाराका साथ आज असार १५ गते अर्थात २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । देशभरका किसानले धान रोपेर आज राष्ट्रिय धान दिवस मनाएका छन् । असार १५ को दिन च्यूरा दही खाएर धान रोपाई गरी दिवस मनाउने चलन छ । दही च्यूराले शरीरमा उर्जा दिने भएकाले धान रोपाईसँगै दही च्यूरा खाने गरिएको हो ।
यसै क्रममा धनुषाको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियाँले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ धान रोपाई गरेको मनाइएको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथको निमित्त प्रमुख देवकुमार साफीकाे अध्यक्षतामा भएको सो महोत्सवमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, एसपी भुवनेश्वर तिवारी, स्थानीय समाजेसेवी कारीराम यादव, लक्ष्मीनयिाँ गाउँपालिका वडा ५ का वडाअध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
यता धनुषाको मिथिला नगरपालिकामा पनि धान दिवस तथा रोपाई महोत्सव २०८१ मनाइएको छ । नगरपालिकाको कृषि शाखाको आयोजनामा मिथिला नगरपालिका–२, विश्वकर्मा चोकमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको कृषि शाखाका प्रमुख सञ्जयकुमार महतोले बताउनुभयो । नगरपालिकाका नगर उपप्रमुख सुनितासिंह बुढाथोकी, सबै वडाध्यक्षलगायतका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीयले धान रोपेर दिवस मनाइएको उहाँले जानकारी दिनुभयो ।
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे सुरमे लोक लयका गीत गाउँदै धान रोप्ने र थालपानि खेलेर मनारेञ्जन गर्ने चलन पनि रहेको छ । मल खाद्य समयमा नपाएपछि मेहनत अनुसारको धान उत्पादन समेत नहुने भएकाले धान खेती घटाउँदै लगेको किसानहरु बताउँछन् ।