स्वागतम खबर
ढल्केवर, साउन ४ ।
दुर्घटनामा दर्जनौले ज्यान गुमाइ सकेको जनकपुर ढल्केवर सडक खण्डको बसही पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टी मिथिला नगरपालिकाको नगर कार्य समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको छ ।
मिथिला नगरपालिका वडा नं. २ र ६ को सिमानामा पर्ने बसही खोलाको सो पुलमा सवारी दुर्घटनामा परि दर्जर्नौ व्यक्तिको ज्यान गईसकेकोले अधुरा पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टीको मिथिला नगर कार्य समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पार्टीका नगर कार्य समितिका अध्यक्ष अभिमन्यु प्रसाद महतो र पूर्व अध्यक्ष सरोजकुमार सिंह सहित गएको टोलीले मुख्यमन्त्री सिंहलाई बुझाएको पत्रमा बसही खोलामाथिको पुल निर्माण कार्य किन रोकिएको हो त्यसको छानविन गरी यथाशिघ्र निर्माण कार्यका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको छ । छ लेनको जनकपुर ढल्केवर सडक खण्ड निर्माण कार्य सकिएपनि बसही खोलामाथिको पुल निर्माण कार्य वर्षौदेखि अलपत्र छ ।
सडक चौडा भएपनि सडक अनुसार नयाँ पुल निर्माण कार्य समयमै नहुँदा पुरानो जिर्ण पुल साँघुरो भएकाले सवारी दुर्घटना प्रायः दिनहुँ भईरहेकाले नागरिकको ज्यान बचाउन भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको जनमतका पूर्व नगर अध्यक्ष सिंहले बताएका छन् ।