स्वागतम खबर
ढल्केवर, भदौ ५ ।
धनुषाको मिथिला नगरपालिकामा अपाङ्गता समावेशी विकास सम्बन्धी बुधवार एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजनामा नगरपालिकाको सभाहलमा भएको सो अभिमुखिकरणमा मिथिला नगरपालिकामा अपाङ्गता समावेशी विकास सम्बन्धी भएका कार्य, विनियोजन भएको बजेट र अगामी रणनीति बारे छलफल भएको बताइएको छ ।
मिथिला नगरपालिकाले चालु आर्थिक वर्षमा अपाङ्गता समावेशी विकासका लागि विभिन्न शिर्षकमा साढे तीन लाख रुपैयाँ छुट्याएको जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख मिलन श्रीवास्तवका अनुसार नगरपालिकाले चालु आ.व. मा अपाङ्गता समावेशी विकासका लागि विभिन्न शिर्षकमा साढे तीन लाख रुपैयाँ विनियोजन भएको बताउनुभयो ।
यता वडास्तरको बजेटमा अपाङ्गता समावेशी विकासका लागि कुनै पनि कार्यक्रम नराखिएकोले अगामी हिउँदे अधिवेशनबाट बजेट संसोधन गरेर राख्ने प्रतिबद्धता वडाअध्यक्षहरुले जनाउनु भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका प्रकाश नेपालीले बताउनुभयो ।
सो कार्यक्रममा मिथिला नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीले अपाङ्गताको समावेशी विकासका लागि मिथिला नगरपालिकाले कार्य गर्दै आएको र अगामी दिनमा थप बजेट व्यवस्थापन गरेर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष विहारी महतो, ३ का रामएकवाल महतो, ४ चन्द्रबहादुर बुलन, ५ का रामचन्द्र महतो, ६, नन्दकिशोर यादव, ७ का रामबहादुर स्यांग्दन, ९ का दिपकजंग थापा, १० का सविन विक्रम थापा, वडा नं. ८ सदस्य जानकी माया तमाङ्ग, द एसिया फाउण्डेशनका मञ्जु विश्वकर्मा, फोकल पर्सन उपेन्द्र राउत लगायत कर्मचारी र नगरस्तरीय अपाङ्गता पैरवी समूहका पदधिकारीहरुको उपस्थिति रहेको थियो ।