स्वागतम खबर
जनकपुरधाम, भदौ १३ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले महिलाको हक अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारले न्यायपूर्ण कार्य गर्ने बताउनुभएको छ । विहिवार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित पुस्ता समानता तथा बेइजिङ्ग प्लस ३० को समिक्षा एंव मधेश प्रदेश स्तरीय परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले महिलाको हक अधिकारको विषयमा सरकार गम्भीर रहेको र न्यायपूर्ण कार्य गर्ने आश्वासन दिनुभयो । उहाँले मधेश सरकारले महिलाकै हक अधिकारका लागि बेटी पढाउ, बेटी बचाउ, छोरी विमा जस्ता लोकप्रिय कार्यक्रम गरेको र अगामी दिनमा कार्य गर्ने योजनामा रहेकाले महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभयो ।
आसमान नेपालका कोषाध्यक्ष रेखा यादवको अध्यक्षता एवं मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री जयसवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बेइजिङ्ग प्लस ३० ले औंल्याएका सरोकारका विभिन्न १२ वटा क्षेत्रमा परामर्श गरिएको छ । सो कार्यक्रममा समिक्षा तथा परामर्शका विषयमा एनएनविएनका संस्थापक तथा महिला विरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलन सम्बन्धि संयुक्त राष्ट्रिय महासन्धि सिडका विज्ञ सदस्य बन्दना राणाले जानकारी गराउनुभएको थियो ।
बेइजिङ्ग प्लस ३० ले पहिचान गरेका १२ वटा सरोकारका क्षेत्रहरुमा ६ वटा समूह बनाएर छलफल र परामर्श गरिएको आसमान नेपालका अरविन्द यादवले जानकारी दिनुभयो । छलफलको क्रममा मधेश प्रदेशमा सरोकारका १२ वटै क्षेत्रको विद्यमान अवस्था, विगत ५ वर्षमा भएको उपलब्धी, चुनौती र भावी कार्यदिशा विषयमा छलफल, परामर्श गरी समूहगत प्रस्तुतीकरण गरिएको उहाँले बताउनुभयो ।
परामर्श कार्यक्रममा बेइजिङ्ग प्लस ३० को समिक्षाका लागि राष्ट्रिय संजाल नेशनल नेटवर्क अफ बेइजिङ्ग रिभ्यु नेपाल (एनएनविएन) सदस्य रहेको साथी संस्थाले आसमान नेपालको सहकार्यमा लैगिंक समानताका महत्वपूर्ण दस्तावेजको रपमा रहेको बेइजिङ्ग कार्ययोजनाको समिक्षा गरिएको छ ।
सन् १९९५ मा चौथो विश्व महिला सम्मेलनमा जारी भएको बेइजिङ्ग कार्ययोजनाको प्रत्येक पाँच वर्षमा समिक्षा गर्ने गरिएको छ । यस वर्ष सो कार्ययोजनाको ३०औं वर्ष पुगेको अवसरमा जनकपुरधाममा भएको मधेश प्रदेशस्तरीय समिक्षा कार्यक्रममा लैगिंक समानता तथा समाजिक न्यायको क्षेत्रमा कार्यरत संघसंस्था, विकास साझेदार, सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।