स्वागतम् खबर
महेन्द्रनगर, असोज ७ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नागरिकलाई प्रवाह गरिने सेवाबाट २४ प्रतिशत सेवाग्राही मात्र पूर्ण रुपमा सन्तुष्ट रहेको पाएको छ । स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबद्र्धन परियोजना (प्रोयेल) अन्तर्गत युवा सुशासन अभ्यासकर्ताहरुले सोमबार नगरपालिकालाई हस्तान्तरण गरेको सर्वेक्षणले क्षीरेश्वरनाथ नगरपालिकाको सेवा प्रवाहबाट २४ प्रतिशत सेवाग्राही पूर्ण रुपमा सन्तुष्ट रहेको देखाएको छ । सर्वेक्षण अनुसार आधा भन्दा बढि सेवाग्राहीले सेवा प्रवाहको अवस्था र कर्मचारीको व्यवहारलाई औसत स्तरको भएको प्रतिक्रिया दिएका छन् ।
परियोजना अन्तर्गत युवा सुशासन अभ्यासकर्ताहरुले गरेको नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन सोमबार सयोगी समाज नेपाल सर्लाहीले नगरपालिकालाई हस्तान्तरण गरेको छ । समाजले क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवलाई हस्तान्तरण गरेको छ ।
सर्वेक्षण अनुसार नगरपालिकाबाट प्रवाह हुने सेवाप्रति २४ प्रतिशत र वडा कार्यालयबाट प्रवाह हुने सेवाप्रति ३७ प्रतिशत सेवाग्राहीहरु मात्र पूर्ण रुपमा सन्तुष्ट रहेको पाइएको छ भने सेवाग्राहीको ठूलो संख्या अर्थात आधा भन्दा बढि सेवाग्राहीले सेवा प्रवाहको अवस्था र कर्मचारीको व्यवहारलाई औसत स्तरको भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै नगरपालिकामा सेवा लिन आउने ५६ प्रतिशत सेवाग्राहीहरुले सेवा लिँदा अतिरिक्त नतिरेको र ४४ प्रतिशतले सेवा लिन जाँदा अतिरिक्त रकम तिर्नु परेको सर्वेक्षणले देखाएको छ ।
स्थानीय सरकारबाट विपन्न वर्गका लागि धेरै लक्षित सेवा तथा कार्यक्रमहरु प्रवाह भईरहेता पनि यस बारे समुदायमा पर्याप्त मात्रामा सूचना प्रवाह हुन नसकेको सर्वेक्षणले औंल्याएको छ । सर्वेक्षणमा सहभागी करिब २७ प्रतिशत उत्तरदाताले मात्र यस्ता सेवा तथा कार्यक्रमहरु बारे आफूले थाहा पाएको भनेका छन् ।
नगरपालिकामा करिब २२ प्रतिशत् उत्तरदाताहरु मात्र नगरका विकास निर्माण कार्य र आयोजनाको प्रभावकारिताबाट सन्तुष्ट रहेको पाइएको छ भने करिव ३६ प्रतिशत उपभोक्ताहरुले आयोजना सम्पन्न भएपछि जाँचपासका लागि प्राविधिकलाई रकम दिनुपर्ने गुनासो गरेको पाइएको छ ।
स्थलगत अनुगमन, प्रश्नउत्तर र अन्तरवार्ता गरी तीन प्रकारको विधिबाट गत आर्थिक वर्ष २०८० र ०८१ को मंसिर र पौषमा तालिम प्राप्त पाँच जना युवा सुशासन अभ्यासकर्ताहरु दुई महिना लगाएर गरिएको सर्वेक्षणमा सेवाको सन्तुष्टी, सेवाको नियमितता, सेवाप्रति जनविश्वास, सेवाको गुणस्तर, नागरिक वडापत्र, उजुरी पेटिका, गुनासो सुन्ने अधिकारी, सिफारिश, पूर्वाधार विकास, वातावरण, सरसफाइ, वित्तिय व्यवस्थापन, कार्य सम्पादन र पारदर्शिता विषय समेटिएको सयोगी समाजका परियोजना संयोजक निरमा चौधरीले बताउनुभयो ।
यसैबीच नगर प्रमुख यादवले प्रतिवेदन बुझ्दै युवा सुशासन अभ्यासकर्ताहरुले गरेको सर्वेक्षण कार्यलाई सराहना गर्दै जिरो प्रतिशत नागरिक पनि नगरपालिकाको सेवाबाट सन्तुष्ट नरेहको बेला आफु आउँदा २४ प्रतिशत सेवाग्राही सन्तुष्ट हुने नै ठुलो उपलब्धी रहेको बताउनुभयो । उहाँले सर्वेक्षणमा संलग्न संस्था र अभ्यासकर्ताहरुलाई धन्यवाद दिँदै प्रतिवदेनले देखाएको आंकडा र सल्लाह सुझावलाई अगामी दिन अझ सुधार गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो ।
नागकि सन्तुष्टी सर्वेक्षण प्रतिवेदन हस्तान्तरण समारोहमा नगरपालिकाका वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, सहयोगी समाज नेपालका प्रतिनिधी, युथ प्यानलका पदाधिकारी लगायत युवा सुशासन अभ्यासकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा सुशासन अभ्यासकर्ता आशिष सिंह दनुवार र प्रियंका प्रधानले सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन परियोजनाका अनगुमन अधिकृत जनक अधिकारीले गर्नुभयो ।
युरोपियन युनियनसंगको सहकार्यमा हेल्भेटास नेपाल, सहयोगी समाज नेपाल र क्षीरेश्वरनाथ नगरपालिकाको संयुक्त सहयोगमा स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबद्र्धन परियोजना (प्रोयेल) संचालन भईरहेको नगरपालिकाले जनाएको छ ।