स्वागतम खबर
ढल्केवर, असाेज १२ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सामुदायिक कृषि सहकारी संस्था लि.का अध्यक्ष रितलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संस्थाका लेखा समितिका संयोजक राजेन्द्र महतोले लेखा प्रतिवेदन र संस्थाका प्रबन्धक ललित कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार सामुदायिक कृषि सहकारी संस्थाले संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा रु. २६ लाख १७ हजार ७ सय ८५ रुपैयाँ शुद्ध नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ संस्थाले ७२ लाख लाख ५६ हजार ५ सय १६ रुपैयाँ जम्मा आम्दानी गरेकाे छ भने विभिन्न शिर्षकमा ४६ लाख ३८ हजार ७ सय ३१ रुपैयाँ खर्च गरेकाे प्रतिवेदनमा उल्लेख छ ।
यस्तै ३ करोड ८७ लाख १६ हजार ४७ रुपैयाँ बचत जम्मा गरेको छ भने ४ करोड ३६ लाख १९ हजार ८ सय ८८ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । आ.व. २०८१/०८१ मा संस्थाकाे शेयर रकम भन्ने ६२ लाख ९७ हजार ३ सय रुपैयाँ पुगेकाे छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा सबै भन्दा बढी बचतकाे ब्याजमा रु. २४ लाख २९ हजार ५ सय ८८ रुपैयाँ खर्च गरेकाे छ भने २ लाख ९० हजार ८ सय ६५ रुपैयाँ आयकर तिरेको प्रतिवेदनमा जनाएकाे छ । साधारणसभामा प्रस्तुत आय-व्यय प्रतिवेदन , लेखा परिक्षण प्रतिवेदन र प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित भएकाे अध्यक्ष रितलाल महताेले जानकारी दिनुभयाे ।
हाल ६० जना महिला र ९६ जना पुरुष गरी १ सय ५६ जना ऋणी रहेको सामुदायिक कृषि सहकारी संस्थाको ऋण असुली दर हाल ९८ प्रतिशत रहेको संस्थाका प्रबन्धक ललित कुमार महतोले बताउनुभयाे । ३ सय ७१ जना महिला र ५ सय ९० जना पुरुष गरी संस्थामा हाल जम्मा ९ सय ६१ जना सदस्य रहेका छन् ।
साधारणसभा कार्यक्रममा मिथिला नगरपालिका २ का वडाअध्यक्ष विहारी महतो, ५ का वडाअध्यक्ष रामचन्द्र महतो, हिमालय युवा क्लवका संरक्षक अरुणकुमार महतो, कांग्रेस नेता सुर्वण महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा संस्थाको संचालक समिति, शेयरधनी, बचतकर्ता लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन टेक कुमार महतोले गरेका थिए ।
यसैबीच संस्थाले १३औं साधारणसभाको अवसरमा ३ जना उत्कृष्ट ऋणी र ३ जना उत्कृष्ट नियमित बचतकर्तालाई विभिन्न सामग्री सहित सम्मान समेत गरेको छ । संस्थाले उत्कृष्ट ऋणीमा रामकुमारी देवी महताे, नगिना देवी र शिवदेवी कापरलाई सम्मान गरेको छ भने नियमित दैनिक बचतकर्तामा रमेश चाैधरी, मासिक बचतकर्तामा कलियादेवी महतो र समृद्ध महिला बचतकर्तामा रामप्यारी देवीलाई सम्मान गरेको छ ।
धनुषाको महेन्द्रनगरमा कार्यालय संचालन गर्दै आएको सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा नक्टाझिजस्थित वडा कार्यालयको कभर्ड हलमा गरिएको छ । संस्थाले हाल कृषि ऋण, व्यापार ऋण, सुलभ ऋण, पशु कर्जा र तरकारी खेची कर्जा तर्फ लगानी गर्दै आएकाे छ । त्यस्तै बचत तर्फ स्वेच्छिक/ समान्य, सामूहिक,समृद्धि महिला बचत, दैनिक बचत, सामुदायिक मासिक बचत, आवधिक बचत, बाल बचत र शेयर बचतमा रकम जम्मा गर्दै आएकाे जनाएकाे छ ।