स्वागतम खबर
ढल्केवर, पौष ५ ।
सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजना अन्तर्गत धनुषाको मिथिला नगरपालिकामा टोल स्तरमा पनि महिला अधिकार मञ्च गठन प्रक्रियालाई अगाडी बढाएको छ । मिथिला नगरपालिकास्तरीय महिला अधिकार मञ्च गठन तथा संचालन पश्चात वडास्तरमा समेत वडास्तरीय महिला अधिकार मञ्च गठन भएको मिथिला नगरपालिकामा प्रत्येक वडाको टोल स्तरमा समेत टोल स्तरीय महिला अधिकार मञ्च गठन प्रक्रियालाई अगाडि बढाएको छ ।
शुक्रवार मिथिला नगरपालिकाको कार्यालय ढल्केवरको सभाहलमा भएको मञ्चको नगर र वडास्तरीय संयुक्त बैठकले पौष २५ गतेभित्र टोल स्तरमा समेत महिला अधिकार मञ्च गठन गर्ने निर्णय गरेको मञ्चका नगर सचिव गंगाकुमारी बलम्पाकीले जानकारी दिनुभयो । यसअघि नगर र वडा तहमा गठन भईसकेको महिला अधिकार मञ्चको समूहलाई टोल स्तरमा समेत विस्तार गर्ने र कार्य उद्देश्य सहित टोल स्तरीय मञ्च गठनको प्रक्रियालाई तिव्रता दिई पौष २५ गते अगामी योजनाका लागि फेरी संयुक्त बैठक बस्ने निर्णय भएको सचिव बलम्पाकीले बताउनुभयो ।
महिला अधिकार मञ्चका नगर अध्यक्ष कल्पना कडारीको अध्यक्षता तथा नगर उप प्रमुख सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सो संयुक्त बैठकले वडास्तरीय महिला अधिकार मञ्चलाई टोल स्तरीय महिला अधिकार मञ्च समयभित्रै गठन गरी सीपमूलक कार्यक्रमका लागि योजना पेश गर्न आग्रह गरेको छ । बैठकलाई सम्बोधन गर्दै उप प्रमुख बुढाथोकीले पालिका, वडा र टोल तहसम्मै महिला अधिकार मञ्च गठन, संचालन गरी महिलाहरुको सीप र क्षमता विकासका साथै हक अधिकार एवं लैंगिक हिंसाका घटनाहरुमा पैरवी गर्ने उद्देश्य सहित गठित मञ्चले महिला सशक्तिकरणमा टेवा पुग्याउने विश्वास व्यक्त गर्नुभयो । मञ्च मार्फत महिलाहरुको लागि सीप एवं आय मूलक तालिम, क्षमता विकास तालिम प्रदान गर्दै सबल र सक्षम नेतृत्व तयार गर्ने आफ्नो योजना रहेको उप प्रमुख बुढाथोकीले बताउनुभयो । उहाँले मञ्च सबल र सक्षम भएपछि पालिकाको न्यायिक समितिमा आउने लैंगिक हिंसाका घटनाहरुको सहजीकरण र निरुपणमा समेत सहजता आउने दावी गर्नुभयो । उप प्रमुख बुढाथोकी यसका लागि पालिकाले केही बजेट व्यवस्थापन समेत गरेको र अगामी दिनमा माग भई आएका आवश्यकता र योजना अनुसार थप बजेट व्यवस्थापन गर्दै जाने उल्लेख गर्नुभयो ।
यता सोही बैठकलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सीताकुमारी काफ्लेले महिला अधिकार मञ्चलाई पालिकाको साक्षर अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । मिथिला नगरपालिकालाई चाँडै साक्षर पालिका घोषणा गर्ने योजना रहेको र तथ्यांक अनुसार बढी जसो महिलाहरु नै निरक्षर भएकाले यकिन तथ्यांक संकलन गर्दै टोल टोलमा महिलाहरुलाई साक्षर बनाउने कार्यमा मञ्चको उल्लेख्यनीय भुमिका हुने बताउनुभयो ।
बैठकमा नगरस्तरीय महिला अधिकार मञ्चका सल्लाहकार मनिता अर्याल, सरीता कुमारी महतो, परियोजनाको सहजीकरण गर्ने संस्था समाज उत्थान युवा केन्द्र (सुयुक) का वरिष्ठ कार्यक्रम अधिकृत विनोदकुमार महतो, मञ्चका पदाधिकारी, वडास्तरीय महिला अधिकार मञ्चका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।