स्वागतम खबर
ढल्केवर, पुस ६ ।
धनुषाको मिथिला नगरपालिका –६ ढल्केवरस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.कोे तेस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष सिताराम महतोको अध्यक्षता तथा मिथिला नगर पालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा संस्थाको तेस्रो वार्षिक साधारणसभा मनाइएको छ ।
साधारणसभाको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले ऋण लगानी र असुलीमा मात्र केन्द्रीत भएको सहकारी संस्थालाई अन्य रचनात्मक र सीप मूलक कार्यक्रमहरुमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका घरपरिवारलाई वित्तिय साक्षरता तालिम, सचेतना मूलक कार्यक्रमहरु गर्न संस्थालाई सुझाव दिनुभयो ।
साधारणसभामा विशेष अतिथिको रुपमा उपस्थित मिथिला नगरपालिकाका प्रवक्ता एवं वडा नं.७ का अध्यक्ष रामबहादुर स्याङदनले शुभकामना मन्तव्य राख्दै संस्थालाई साक्षरता कार्यक्रम चलाउन आग्रह गर्नुभयो । अझै पनि कतिपय सदस्यहरु निरक्षर रहेको र हस्ताक्षर गर्नुको साटो ल्याप्चे लगाउनुपर्ने अवस्था देखिएकाले साक्षरता कार्यक्रम चलाउनुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।
ढल्केवरस्थित राधाकृष्ण मन्दिरको सभाहलमा भएको साधारणसभा समारोहमा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण तथा आय व्ययको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड २६ लाख ३६ हजार ७ सय ३६ रुपैयाँ ऋण लगानी गरेको छ । सो ऋण लगानीबाट संस्थाले १७ लाख १४ हजार २ सय ९ रुपैयाँ ब्याज र २ लाख ७१ हजार ६ सय १४ रुपैयाँ अन्य आम्दानी प्राप्त गरेको लेखा प्रतिवेदनमा उल्लेख छ । यसैगरी बचतमा४ लाख ९५ हजार ८ सय ८९ रुपैयाँ ब्याज खर्च गरेको जनाएको छ ।
हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. आ.व. २०८०/०८१ मा ५ लाख ३० हजार ६ सय ७७ रुपैयाँ नाफा आर्जन गरेको छ । प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी ६७ लाख ८१ हजार ४ सय रुपैयाँ रहेको छ । संस्थाले कृषि कर्जा, व्यापार कर्जा, शिक्षा कर्जा र घरायसी कर्जामा हाल ऋण लगानी गर्दै आएको छ । संस्थामा आर्थिक वर्ष २०८०/०८१ प्रतिवेदन अनुसार ५६ जना महिला र ८६ जना पुरुष गरी जम्मा १ सय ४२ जना सदस्य रहेका छन् ।
साधारणसभामा अतिथिको रुपमा उपस्थित मिथिला नगरपालिकाका सहकारी शाखाका प्रमुख उमेशकुमार महतो, कृषि शाखा प्रमुख संजयकुमार महतो, सत्यनारायण सिंह लगायत विभिन्न बैंक तथा सहकारी संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारणसभाको उद्घाटन सत्रलाई समापन गर्दै संस्थाका अध्यक्ष सिताराम महतोले अगामी भावी कार्ययोजनाको रुपमा शेयर सदस्यको संख्या २सय २० जना पुग्याउने, संस्थाको शेयर पुँजी एक करोड पुग्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
साधारणसभामा स्वागत मन्तव्य संस्थाका संचालन समितिका सदस्य ममता कुमारीले राख्नु भएको थियो, कार्यक्रमको संचालन मनोज सिंहले गर्नुभएको थियो ।
यता साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट दैनिक बचतकर्ताहरु अनिलकुमार सिंह, पुजाकुमारी महतो, दिनेशकुमार चौधरी, महेशकुमार महतो र विभाकुमारी महतोलाई सम्मान गरेको छ भने असल ऋणी शेयर सदस्यहरुमा रामप्रकाश ठाकुर, तारादेवी लामा, धर्म बोम्जन लामा, राकेशकुमार साह शैलेन्द्रकुमार साह हलुवाईलाई सम्मान गरेको थियो ।
यस्तै तेस्रो वार्षिक साधारणसभाको अवसरमा हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न विद्यालयका दर्जर्नौ विद्यार्थीलार्ई छात्रवृत्ति अन्तर्गत शैक्षिक सामग्री समेत वितरण गरेको जनाएको छ ।