स्वागतम खबर
महेन्द्रनगर, पुस १४ ।
मधेश प्रदेश सरकारले वर्षाैदेखि ओझेलमा पर्दै पर्दैआएकाे ऐतिहासिक एंव धार्मिक महत्व बाेकेकाे दूधमती नदीको संरक्षण तथा सम्बद्र्धन गर्ने अभिप्रायले आजदेखि सीमांकनको काम शुरु गरेको छ ।
आइतवार विधिवत रुपमा कार्यक्रम आयोजना गरी दुधमती नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा रहेको अरजनवा गाउँबाट सीमांकनको काम शुरु गरिएको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेसका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा लगायतका जनप्रतिनिधिहरुले संयुक्त रुपमा नेपालको झण्डा हल्लाएर सीमांकनको शुभारम्भ गरेका हुन् ।
धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमीटरको दूरीमा रहेको दुधमती नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्नेसहित जग्गा छुटयाउने गरी पैनी खन्ने काम आजैदेखि शुरु गरिएको छ ।
दूधमती नदी संरक्षण तथा सम्बद्र्धन उच्चस्तरीय उपसमितिद्वारा संचालित दूधमती नदी विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खन्न गरी नदीको सौन्दर्यीकरण गरिने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गण्न्तव्यको रुपमा स्थापित हुने बताए ।
दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए । उनले भने ‘नदीको उकास विकास संगै दूधमती नदीको एक डेढ किलोमीटर क्षेत्रफललाई तालको रुपमा विकास गरे स्थानीय सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सक्नेछ ।’
कार्यक्रममा विशिष्ट अतिथि एवं उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेका मन्त्री शेषनारायण यादवले यो उर्जा, सिचाई तथा खानेपानी मन्त्रीको मात्रै योजना नभई प्रदेश सरकारकै ड्रीम प्रोजेक्टको रुपमा रहेको छ । मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१/८२ मा २ करोड ५० लाख रुपैया बजेट छुटयाएको छ ।
परियोजना बारे जानकारी गराउंदै उनले भने करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतीको बहाव क्षेत्र बाहेक दुवैतर्फ ११/११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यीकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ-गाउँ नजिक दूधमती र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २/२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था रह्नेछ ।