स्वागतम खबर
जनकपुरधाम, पुस १७ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अत्याधुनिक सुविधासम्पन्न मुस्कान अस्पताल बुधवारदेखि संचालनमा आएको छ । अंग्रेजी नयाँ वर्ष २०२५को अवसरमा उक्त अस्पतालको समुद्घाटन गरिएको छ । नेपाली कांग्रेसका सहमहान्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवले मुस्कान अस्पतालको एक समरोहकाबीच समुद्घाटन गर्नुभयो ।
अस्पतालको उद्घाटन गर्दै प्रमुख अतिथि यादवले मधेश प्रदेशको राजधानीमा निर्मित अत्याधुनिक सुविधासम्म मुस्कान अस्पतालले विरामीलाई गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । जनकपुरधाममा अस्पताल संख्यात्मक रुपमा थुप्रै भएपनि गुणस्तरीय र विशेषज्ञ सेवाको अभाव रहेकाले अस्पताल संचालकलाई यसमा गम्भीर बन्न आग्रह गर्नुभयो । उपचारका लागि जनकपुर आएका विरामीलाई गुणस्तरीय र विशेषज्ञ सेवाका लागि अन्यत्र जान नपरोस् भन्दै उहाँले सबै वर्गका विरामीको लागि अस्पतालमा उपचार सेवा सहज बन्नु पर्ने धारणा राख्नुभयो ।
जनकपुरधामको पिडारी चौक देखि करिव सय मिटर उत्तर जनकपुर ढल्केवर सडक खण्डको पूर्वपट्टी नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न मुस्कान अस्पताल २५ शैयाको रहेको अस्पतालका संचालक कमल कवाडीले बताउनुभयो । मुस्कान अस्पतालले उपचार सेवाको गुणस्तरीयतामा कुनै सम्झौता नगर्ने र गरिव, असाहयको उपचारमा विशेष छुट समेत दिने संचालक कवाडीले भन्नुभयो ।
२५ शैयाको दर्ता अनुमति रहेको रहेको मुस्कान अस्पतालमा दुई वटा भेन्टिलेटर, आइसियु, एनसियु, सर्जिकल वार्ड, जेनरल वार्ड, ईमरजेन्सी सेवा, अप्रेशन सेवा, एक्सरे सेवा, प्याथोलोजी, औषधी पसल लगायतको सेवा अस्पतालभित्रै उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । अस्पताल उद्घाटन समारोहमा चिकित्सक, स्वास्थ्यकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।