स्वागतम खबर
जनकपुरधाम, पुस २४ ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले धनुषाका पत्रकारहरूलाई बुधवार एकदिने साइबर सुरक्षा र एआई सम्बन्धी एक दिने अभिमुखिकरण तालिम दिएको छ । अभिमुखिकरणमा पत्रकारहरूलाई साइबर सुरक्षाका महत्वपूर्ण पक्ष र एआई प्रविधिको सकारात्मक एवं नकारात्मक प्रभावबारे जानकारी प्रदान गरिएको छ ।
सो अभिमुखिकरणमा एआईको प्रयोग, प्रभाव र सम्भावना बारे एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारी र साइबर सुरक्षाबारे पत्रकार प्रकाश मैनालीले सहजीकरण गर्नुभयो । कार्यक्रममा साइबर सुरक्षा र एआईको क्षेत्रमा भएका नवीनतम विकासहरू र त्यसले पत्रकारितामा पार्ने प्रभावबारे जानकारी गराइएको थियो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षता तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जिल्लाभरिको सयौं पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री लेखीले आधुनिक समयमा पत्रकारिता र प्रविधिको राम्रो समन्वयले पत्रकारहरूको जीवनलाई अझ सहज र सुरक्षित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले इच्छाशक्ति भएपछि कुनैपनि कार्य सम्भव रहेको भन्दै विगत ६ वर्षसम्म हुन नसकेको कार्य शिक्षा नीति आफैले मन्त्रीको पदमा रहेका दुई महिनामा बनाएको दावी गर्नुभयो । मन्त्रीले लेखीले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताउँदै प्रदेशका पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बिमासहित अन्य विभिन्न योजनाहरूको सुरुवात गरिसकेको जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित पत्रकारहरूले यस्ता प्रकारका प्रशिक्षणले कार्यक्षेत्रमा सहयोग पुग्ने विश्वास लिएका छन् ।
अभिमुखिकरण कार्यक्रममा मधेश प्रदेशसभा सदस्यद्वय रामअशिष यादव, रत्नेश्वर गोइत, गृह संचार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह लगायतले मन्तव्य राख्नुुभएको थियो ।