स्वागतम खबर
जनकपुरधाम, माघ ९ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित दर्शनिया रामेश्वरसिंह कुशवाहा एकेडमी स्कुलमा बुधवार समुदाय–प्रहरी साझेदारी अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । शान्तिपूर्ण एंव सुरक्षित समाजका लागि “सुरक्षित सडक र सवारी,हामी सबैको जिम्मेवारी” मूल नाराका साथ ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
स्कुलका संचालक जगदिश प्रसाद सिंहको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक (एसपी) भुवनेश्वर तिवारीको प्रमुख आतिथ्यमा ट्राफिक सचेतना कार्यक्रम गरिएको व्यवस्थापकले जनाएको छ ।
सो कार्यक्रममा स्कुलका विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी चालकहरुले पालना गर्नुपर्ने ट्राफिक नियमका बारेमा सचेतिकरण गरिएको छ । कार्यक्रममाप्रमुख अतिथि एसपी तिवारीले युवा तथा विद्यार्थीलाई स्कुलदेखि नै ट्राफिक नियमका बारेमा जानकारी दिएमा सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले युवा वर्गमा बढ्दै गएको लागुऔषध सेवनको बानीले समेत सडकमा सवारी दुर्घटना हुने गरेकाले यसको न्यूनिकरणका लागि पनि विद्यालय र विद्यार्थी अघि बढ्नु पर्ने आवश्यक रहेको बताउनुभयो । विद्यालयमा पढ्ने विद्यार्थीहरु तथा नवयुवकहरुले सडकमा सवारी चलाउँदा सवारी चालक अनुमति पत्र नभएकाले अन्य जोखिमहरु समेत निम्तिने गरेकोले यसप्रति सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
सो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका ईन्सपेक्टर हरिबहादुर ओलीले सडकमा सवारी चालकहरुले पालना गर्नुपर्ने ट्राफिक नियमका बारेमा विद्यार्थीहरुलाई सहजीकरण गर्नुभयो ।
सो अवसरमा स्कुलका व्यवस्थापक सिंहले एसपी तिवारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका ईन्सपेक्टर ओलीलाई दोसल्ला सहित मायाको चिनो सहित सम्मान गर्नुभएको थियो ।