स्वागतम खबर
महेन्द्रनगर, फाल्गुन ७ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा बुधवार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियागितामा दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी महेन्द्रनगरले प्रथम स्थान हासिल गरेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल क्षीररेश्वरनाथ नगर प्याब्सनको आयोजनामा भएको नगरस्तरीय हाजिरी जवाफ प्रतियागितामा आधारभूत तह र माध्यमिक तह दुवै तर्फ दर्शनिया स्कुलले प्रथम स्थान ल्याएको छ । सो प्रतियोगितामा आधारभूत तह तर्फ नगरभरिका १४ वटा निजी विद्यालय र माध्यमिक तर्फ ६ वटा निजी विद्यालयको सहभागिता रहेको क्षीरेश्वरनाथ नगर प्याब्सनका अध्यक्ष महेश महतोले जानकारी दिनुभयो ।
प्रतियोगितामा आधारभूत तह तर्फ गंगोत्री अंगे्रजी आवासीय विद्यालयले दोस्रो र न्यू पारिजात बोर्डिंग स्कुलले तेस्रो स्थान ल्याएको छ । यस्तै माध्यमिक तह तर्फ गंगोत्री स्कुल दोस्रो र ज्ञानमन्दिर स्कुल तेस्रो स्थान ल्याएको अध्यक्ष महतोले बताउनुभयो ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा क्षीरेश्वरनाथ नगर प्याब्सनका अध्यक्ष महेश महतोको अध्यक्षता तथा नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीको प्रमुख आतिथ्यमा भएको आयोजना गरिएको सो नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता २०८१ मा क्षीरेश्वरनाथ नगरपालिका ८ का वडाअध्यक्ष मोदकुमार महतो मोदीको विशेष उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान ल्याएको विद्यालय र विद्यार्थीहरुलाई शिल्ड र प्रमाण पत्र वितरण गरिएको छ । महेन्द्रनगरस्थित सिस्टमेटिक बोर्डिंग स्कुलमा भएको सो हाजिरी जवाफ प्रतियोगिताको संचालन नगर प्याब्सनका सचिव रामसिठ महतोले गर्नुभएको थियो ।