स्वागतम खबर
ढल्केवर, फाल्गुन ७ ।
सिरहाका रिंकुकुमारी सदा र भारतको ओडिसामा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको माग गर्दै धनुषाको ढल्केवरमा बुधवार प्रदर्शन गरिएको छ । पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न माग गर्दै युवाहरूले मैनबत्ती प्रज्वलनसहित विरोध प्रदर्शन गरेका हुन् ।
बुधबार ढल्केवरमा युवाहरूले रिंकु सदाको न्याय र छानबिन दोषीलाई कारबाहीको माग गरेका थिए । उनीहरूले ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा’ लेखिएका प्लेकार्ड बोकेर ढल्केबर चोकको परिक्रमा गर्दै कोणसभा गरेका थिए । कोणसभामा महिला अधिकारकर्मी बिना कडारी, कल्पना लामा, सामाजिक अभियन्ता विजय दासलगायतले मन्तव्य राखेका थिए ।
महिला अधिकारकर्मी बिना कडारीले रिंकुकुमारी र प्रकृति लम्सालमाथि अन्याय भएको बताइन् । दोषीलाई कानुनी कठघरामा ल्याइएन भने हामी थप सशक्त आन्दोलन गर्ने जानकारी दिइन् । सामाजिक अभियन्ता विजय दासले महिलामाथिको हिंसाको अन्त्य हुनुपर्ने बताए । रिंकु र प्रकृति मात्र होइनन् हरेक पीडितका लागि न्याय खोज्नु सबैको दायित्व उनले जानकारी दिए । रिंकु सदा र प्रकृति लम्साल दुबै घटनामा पीडितलाई न्याय दिनुपर्ने वक्ताहरुको भनाइ थियो ।
गत ३० माघ सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलकी १७ वर्षीया रिंकु आफ्नै घरको टिनको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।उनलाई स्थानीय तीन युवक रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको र त्यसपछि पञ्चायती गर्दै मिलाउने प्रयास गरिएको घटना बाहिर आएको थियो ।
त्यस्तै, भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति मृत फेला परेकी थिइन् ।