स्वागतम खबर
जनकपुरधाम, फाल्गुन ११ ।
अपाङ्गता भएका व्यक्ति तथा बालबालिका केन्द्रीत समावेशी शिक्षा अबको अपरिहार्यता भएको जनकपुरमा आइतबार आयोजित एक कार्यशालामा सहभागी वक्ताहरुले जोड दिएका छन् । सबैको सिकाइ स्तर एकै खालको नएभकाले अबको दिनमा समावेशी शिक्षामा तीन तहकै सरकार र सरोकारबलाहरु केन्द्रीत हुनुपर्ने सहभागीहरुले बताएका छन् ।
प्रादेशिक स्तरमा युएनसिआरपिडि (UNCRPD) को धारा–२४ अनुरुप समावेशी शिक्षामा रहेका अन्तर विश्लेषण विषयक एकदिने कार्यशाला गोष्ठीमा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई अरु सरह नै मूलधारका विद्यालय, कलेज तथा शैक्षिक संस्थामा गएर पढ्न पाउने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
अपाङ्गताको अवस्था मानवीय विविधता रहेकाले युएनसिआरपिडि (UNCRPD) को धारा–२४ अनुरुप समावेशी शिक्षाका सिद्धान्त कार्यान्वयमा सम्बद्ध सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने शिक्षा विकास तथा समन्वय ईकाइ धनुषाका शाखा अधिकृत प्रतिभा साहले बताउनुभयो । शाखा अधिकृत साहले समावेशी शिक्षा कार्यान्वयनमा देखिएको समस्या तथा चुनौती विषयमा कार्यशालामा भएको समूहगत छलफलको क्रममा मूख्य रुपमा सम्बन्धित क्षेत्रको एकिकृत तथ्यांकको अभाव, वित्तिय स्रोतसाधनको अभाव, तालिम प्राप्त जनशक्तिको कमी, अपाङ्गतामैत्री भौतिक संरचनाको अभावले पनि समावेशी शिक्षा कार्यान्वयनमा जटिलता भईरहेको उल्लेख गर्नुभयो । उहाँले तथ्य र अनुसन्धानमा आधारित कानुन बनाउनु पर्ने र विद्यमान कानुनको कार्यान्वयन गर्दै पर्याप्त वित्तिय लगानी र स्रोतसाधन बढाउनुको विकल्प नभएको भन्नुभयो ।
अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुको विषयमा संसारभरि एकदमै कम छलफल हुने भएकाले केन्द्रीत जनसहभागिता मूलक कानुन बनाएर अपाङ्गताको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने महोत्तरी औरहीका दृष्टिविहन स्रोत शिक्षक विरेन्द्र महतोले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई तालिमको व्यवस्था समेत हुनुपर्ने, विद्यालय अपाङ्गतामैत्री पहुँचयुक्त हुनुपर्ने, व्यवस्थापनक समितिमा पनि अपाङ्गता भएका व्यक्ति अनिवार्य रुपमा राख्नुपर्ने आवश्यक भएकोले सम्बद्ध सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशले भिएसओसँगको सहकार्य तथा यूके ईन्टरनेशनल डेभेलपमेन्टको सहयोगमा सो कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा धनुषा जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत प्रतिभा साह, शिक्षा तथा संस्कृति मन्त्रालयका दोषाभे नरेश कुमार यादव, विभिन्न सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका, शिक्षक संघसंगठनका जिल्ला अध्यक्ष तथा प्रतिनिधी, अपाङ्गताको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका व्यवस्थापक प्रकाश नेपालीले जानकारी दिनुभयो ।
कार्यशालामा सहजकर्ता जीवन पुडासैनीले युएनसिआरपिडि (UNCRPD) को धारा–२४ का बारेमा प्रकाश पार्दै सहजीकरण गर्नुभएको थियो ।
व्यवस्थापक प्रकाश नेपाली लगायत अपाङ्गताका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।