स्वागतम खबर
सिरहा, फाल्गुन ११ ।
सिरहाको जिल्लाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु कुमारी सदाको सामूहिक बलात्कार तथा रहस्यमयी मृत्यु प्रकरणमा प्रहरीले चारजना पक्राउ गरेको छ । छानबिन समितिका संयोजक एवं एसएसपी शान्तिराज कोइरालाले सोधपुछका लागि चार जना नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेहरूमा पञ्चायती बस्नेदेखि प्रत्यक्षदर्शीसम्म रहेका छन् । उनले अनुसन्धानपछि अवस्था हेरी केहीलाई रिहा गर्न सकिने र कसैलाई मतियारका रूपमा मुद्दा चलाउन सकिने बताउनुभयो ।
यसअघि, फागुन ८ गते कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक तथा लेनदेन मिलापत्र सम्बन्धी चारवटा मुद्दामा आठ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरिएको थियो । जाहेरी ईलाका प्रहरी कार्यालय, लहानमा दिइएको थियो ।
गत माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी रिंकुमाथि त्यसअघि माघ २७ गते राति शौच गर्न बाहिर निस्किएको बेला सामूहिक बलात्कार भएको खुलेको छ । घटनालाई दबाउन २९ र ३० गते वडासदस्यसहित स्थानीयहरूकै संलग्नतामा गाउँमै पञ्चायत बसालेर मिलापत्र गर्ने प्रयास भएको थियो । उक्त पञ्चायतीमा पीडक पक्षबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना भराउने र पीडित पक्षलाई प्रहरीमा उजुरी नदिन बाध्य पार्ने निर्णय गरिएको खुलासा भएको छ । प्रहरीले घटना विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।