स्वागतम खबर
ढल्केवर, फाल्गुन २४ ।
आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय नारी दिवस २०२५ विविध कार्यक्रमका साथ विश्वभरिका विभिन्न राष्ट्रहरूमा मनाइएको छ । नेपालमा समेत ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विविभ कार्यक्रम गरिएको छ । दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिकाले प्रशिक्षण र अन्तरक्रिया गरेको छ ।
“सबै महिला तथा बालबालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण” मूल नाराका साथ मिथिला नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ढल्केवरमा मनाइएको दिवसमा संविधान प्रदत हक अधिकारका लागि महिला स्वयम अगाडि बढ्नु पर्ने सहभागी वक्ताहरुले बताएका छन् । महिलाहरूले समाजका हरेक क्षेत्रहरूमा उल्लेखनीय योगदान पुग्याएपनि उनीहरूको अधिकार र अवसरहरूमा असमानता र भेदभावका चुनौतीहरू अझ कायमै रहेकाले यसका लागि महिलाहरूको शैक्षिक, आर्थिक र राजनीतिक अधिकारहरूको संरक्षण र प्रोत्साहन गर्नु पर्नेमा वक्ताहरुको जोड दिएका छन् ।
महिलाको हिंसा, बालविवाह र लैंगिक भेदभाव जस्ता समस्याहरूलाई समाधान गर्नका लागि समग्र समाजको सहभागिता र सचेतना मूलक शिक्षामा तीन तहकै सरकारले जोड दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि मिथिला नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीले बताउनुभयो । उहाँले महिलाहरु शारीरिक, मानसिक, समाजिक, भावनात्मक र आर्थिक रुपले रुपले सवल हुनुपर्ने भन्नुभयो । महिलाको चौतर्फी विकास र न्यायमा सहज पहुँचका लागि नगरस्तरीय महिला अधिकार मञ्च गठन गरेर सबल बनाउन तिर आफु लागि परेको उप प्रमुख बुढाथोकीको भनाई थियो ।
मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष तथा नगर प्रवक्ता रामबहादुर स्याग्दन, कार्यपालिका सदस्य नगिना खातुन, नीति आयोग मधेश प्रदेशका पूर्व सदस्य प्रमिला सिंह, अपाङ्गगता पैरवी समूहका दिपिका लामा, महिला अधिकार मञ्चका विना कडारी, रुपान्तरण च्याम्पियन रोशनी साहले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा महिला अधिकार मञ्चका पदाधिकारी, महिलाको हक अधिकार क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका पालिकाभरिका प्रतिनिधी, प्रहरी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । सो प्रशिक्षण तथा अन्तरक्रियामा द एसिया फाउण्डेशन मधेश प्रदेशका मञ्जु विश्वकर्माले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन महिला अधिकार मञ्चका नगर सचिव गंगा बलम्पाकीले गर्नुभएको थियो ।
नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरभित्रका आठ जना उद्यमी महिलाहरुलाई सम्मान समेत गरेको छ । नगरपालिकाबाट विभिन्न प्रकारका सीप विकास तालिम लिएर उद्यमी, व्यवसायमा लागेका हिलाहरुमध्ये उत्कृष्ट आठ जना उद्यमीलाई सम्मान गरेको शाखा प्रमुख शिला महतोले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले तालिम लिएर चप्पल जुत्ता बनाउने व्यवसायमा लागेकी मिथिला न.पा. १० का सुनैना प्रधान, दिपा श्रेष्ठ, डल कुसल बनाउने तथा पार्लर संचालन गर्दै आएका मिथिला न.पा. १ का पुनिता महतो, कपडा सिलाई कटाई गर्दै आएका मिथिला न.पा. ५ का रुणा महतो, गुलाव महतो, वडा नं. ८ का बविताकुमारी महतो, गिता चौधरी, सर्वोत्तम पिठा बनाउने मिथिला न.पा. १० का सपना काफ्ले लगायतलाई सम्मान शाखा प्रमुख महतोले बताउनुभयो ।
महिलाहरूका लागि समानता, अधिकार र सशक्तिकरणको महत्वलाई उजागर गर्न विशेष रूपमा यो दिवस मनाईन्छ । अन्तर्राष्ट्रिय स्तरमा महिला अधिकारको लागि संघर्ष गर्ने र उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक स्थिति सुधार्ने उद्देश्यले विश्वभरि विविध कार्यक्रमका साथ यो दिवस मनाईन्छ ।
नेपाल सरकारले महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरणको लागि विभिन्न नीति र कार्यक्रमहरू लागू गर्दै आएको छ । महिलाहरूको समान अधिकार र अवसर प्राप्तिको लागि विभिन्न संघसंस्थाहरू पनि काम गरिरहेका छन् । यद्यपि, नेपाली समाजमा अझै महिलाहरूका लागि यथेष्ट समानता र अवसर प्राप्त गर्नको लागि दीर्घकालीन प्रयास गर्नुपर्ने देखिन्छ ।