स्वागतम खबर
महेन्द्रनगर , चैत्र १० ।
धनुषाबाट ससुराली महाेत्तरी गएका एक युवककाे हत्या भएकाे छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो । उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएकाे छ। शव शुक्रबार साँझ साढे ५ बजे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको हाे । शव अहिले प्रादेशिक अस्पताल जलेश्वरमा राखिएकाे छ ।
प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी घटनाकाे अनुसन्धान सुरु गरेको जनाएको छ । महोत्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी सन्तुलाल जयसवारले भने, ‘शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हाम्रो प्रारम्भिक अनुमान छ, थप कुराहरु अनुसन्धानबाट खुल्ने छ ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।
शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए ।
मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट श्रीमती सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सृजना चढेकी थिइन् भने अर्कोमा शिवशंकर चढेका थिए ।
शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए । तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि मात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।
‘हिजो दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो । त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ,’ मृतकका भाइ राम महतोले भने ।
केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सृजनाले नाना (हजुरबुबा)को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।
यता क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष माेदकुमार महताे घटना थाहा पाएपछि बुझ्न जलेश्वर अस्पतालमा पुगेकाे बताएका छन् । उनले घटनाकाे निष्पक्ष अनुसन्धान गरि घटनामा संलग्न दाेषीलाई कारवाही माग गरेका छन् ।