स्वागतम खबर
जनकपुरधाम, चैत ११ ।
मधेश प्रदेशमा अपाङ्गता सम्बन्धि प्रादेशिक नीति चाँडै बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशले अगुवाई गर्ने उपाध्यक्ष अञ्जु धितालले बताउनु भएको छ । अपाङ्गता समावेशी कुरा सम्भव छ, तर यसका लागि प्रादेशिक नीति आवश्यक रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशले सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको अपाङ्गता सम्बन्धि प्रादेशिक नीति विषयको कार्याशालालाई सम्बोधन गर्दै उपाध्यक्ष धितालले अपाङ्गता भएका व्यक्तिको नीति नियम बनाउँदा अपाङ्गता भएको व्यक्तिहरुलाई समावेश गरिनु पर्ने र अपाङ्गतामैत्री नीति बनाउनु पर्ने उल्लेख गर्नुभयो । जसको सवाल उसैको नेतृत्व हुनुपर्ने उहाँको भनाई थियो ।
कार्याशालामा अपाङ्गताको सवालमा देखिएको नीतिगत चुनौती र समस्या विषयमा समूहगत प्रस्तुतिको क्रममा शिक्षा विकास तथा समन्वय ईकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेलले वास्तविक अपाङ्गताले पाउन पर्ने सेवासुविधाको फाइदा अपाङ्गता नभएका व्यक्तिले पाईरहेको बताउनुभयो । बन्ने र बनेका नीति, कानुन र बजेटमा अझै पनि समय सापेक्ष परिमार्जन गरी कार्यान्वयन हुनपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बहिरा संघका अध्यक्ष बहिरा सम्बन्धि अपाङ्गता भएका दिपककुमार झाले जनताले सेवा पाउने हरेक निकायमा दोभाषे नहुँदा आफ्ना कुरा बुझाउने, बुझने र राख्ने जस्ता चुनौतीको सामना गर्नुपरिरहेको बताउनुभयो । उहाँले बहिराहरुलाई दोभाषे नुहँदा आफ्नै घरपरिवारमा पनि भनेको कुरा बुझाउन समस्या हुँदै आएको भन्नुभयो । झाले दोभाषेको तालिम पर्याप्त रुपमा दिनुपर्ने र हरेका निकायमा दोभाषेको व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशले भिएसओसँगको सहकार्य तथा यूके ईन्टरनेशनल डेभेलपमेन्टको सहयोगमा सो कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा धनुषा जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख चेतकुमार पोखरेल, गृह तथा संचाल मन्त्रालयका सन्त चौधरी, श्रम मन्त्रालयका चिरञ्जीवि कुमार यादव, प्रदेश नीति तथा योजना आयोगका त्रिमधु कुमारी चौहान, महासंघ मधेश प्रदेशका लेखा प्रमुख ज्योतिकुमारी साह लगायत अपाङ्गताको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका ओपेन्द्र राउतले जानकारी दिनुभयो । कार्यशालालाई सहजकर्ता जीवन पुडासैनीले सहजीकरण गर्नुभएको थियो ।