स्वागतम खबर
काठमाडौं, चैत २१।
आन्दोलनरत शिक्षक महासंघलाई सरकारले वार्ताको लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ । तर सरकारले बोलाएको वार्ताको औचित्य नरहेको महासंघले जनाएको छ ।
‘पहिले नै वार्तामा बसेर सहमति भइसकेको छ । फेरि वार्ता र सहमति आवश्यक छैन,’ महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले भने, ‘ऐन जारी गर्ने भएमात्र मन्त्रालय जान्छौं । सहमति र छलफलको आवश्यक छैन ।’
शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । महासंघको व्यानरमा देशभरिका शिक्षकहरुले बुधबारदेखि भने अनिश्चितकालिन काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् ।
यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भई सकेकोले सोहि सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका छन् ।